
काठमाडौं, ४ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेका बताएका छन् ।
माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालले नस्वीकार्ने बताएका हुन् ।
नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि पर्नुभएको पोखरेलले स्पष्ट पारे । नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलको भनाइ छ । नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उनले धारणा राखे । सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको उनको भनाइ छ ।
अध्यादेशले पार्टी सिद्धिने र बन्ने नभएको बताउँदै निर्वाचनको बेलामा कानुन नआए पनि नचल्ने पार्टी नेता कार्यकर्ताले छाड्ने महासचिवले स्पष्ट पारे । ‘त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले अन्यत्र भविष्य खोज्ने गर्दछ’, उनले भने । इतिहासको भारी बोकेर यात्रा अघि बढ्न नसक्ने उनले बताए । राजनीतिक दलको लक्ष भविष्य प्रति केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिए । ‘भविष्य के हो भने समाजवादी जनताबाट बिदा हुँदै छ, नेकपा एमाले जनताको लागि स्वीकार्य हुँदै छ’, उनले भने ।
एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले बताए । ‘खुल्ला हृदयले सम्मान स्वागत गर्ने हो भने पहिला माधव नेपाल आइपुग्नु हुन्छ, तर हामीले माधव नेपालको लागि ढोका खोलेका छैनौँ, उहाँले जुन गल्ती गर्नुभएको छ, त्यो गल्ती गरेबापत नेकपा एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन’, उनले भने ।
देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको बताउँदै उनले त्यसैले आफू केपी ओलीको पक्षमा उभिएको महासचिवको भनाइ छ । देशको पक्षमा उभिने नेताको पक्षमा नउभिने हो भने देश बरबाद हुने उनले बताए ।
बागबजारको होटेल हार्दिकमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्कनु भएको छ । कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको थियो ।








प्रतिक्रिया