
चितवन, ३ माघ । सदरमुकाम भरतपुरदेखि २० किलोमिटर पश्चिम दिव्यनगरमा चिसो छल्न साइबेरियादेखि उडेर हजारौं पानीचरा आइपुग्छन् ।
दिव्यनगर फाँटलाई मुकाम बनाएर पानीचरा आउने गरेका हुन् । पुस २२ को बिहान दिव्यनगरको फाँटमा हठन चौधरीसहितको टोलीले हिउँदमा बसाइँसराइ गरेर आउने पानीचराको अनुगमन गरेको थियो । त्यस क्रममा ३४ प्रजातिका पानीचरा भेटिएका छन् । कुल पानीचराको संख्या २ हजार ३ सय ७५ रहेको चौधरीले जानकारी दिए ।
‘गत वर्षको तुलनामा प्रजाति र संख्या बढेको पाइयो,’ उनले भने, ‘गत वर्ष ३२ प्रजातिका ५ सय ४३ वटा मात्र पानी चरा भेटिएका थिए । यस पटक दुई प्रजाति बढी देखिए । चराको संख्या पनि धेरै पाइयो ।’ गत वर्ष देखिएका फानी चरा रातो जुन बुकल्ला, मभौला जलेवा, सुइरो ठुँडे र टिमटिमा यो पटक भने उनले देखेनन् ।
करिब ४ सय बिघामा रहेको दिव्यनगरको फाँट भरतपुर महानगरपालिका–२६ मा ४६ प्रजातिका त्यस्ता चरा ६७५ वटा देखापरेको पन्छीविद् चौधरीले बताए । नेपालका पानी चराको गणना सन् १९८७ मा सुरु भएको हो । दिव्यनगरको फाँटमा ८ वर्षयता चरा अनुगमन चलिरहेको छ । चरा संरक्षणका लागि भरतपुरका राप्ती र नारायणी नदी आडका २२ देखि २८ नम्बर वडामा गत वर्षदेखि चेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले चरा संरक्षणका लागि वडा कार्यालयले पनि चेतनामूलक कार्यक्रम गर्न बजेट छुट्याएको र गत वर्ष ५० हजार र यो वर्ष १ लाख रुपैयाँ बजेट व्यवस्था गरेको उनले जानकारी दिए ।












प्रतिक्रिया