
काठमाडौं, १८ पुस । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको बैंकले जनाएको छ ।

यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा गरिएको थियो । ११ डिसेम्बरमा गण्डकी प्रदेशको पोखरामा, १३ डिसेम्बरमा कर्णाली प्रदेशको सुर्खेतमा, १८ डिसेम्बरमा कोशीको इटहरीमा, २० डिसेम्बरमा मधेशको जनकपुरमा, २३ डिसेम्बरमा बागमतीको हेटौंडामा, २४ डिसेम्बरमा सुदूरपश्चिमको धनगढीमा, २७ डिसेम्बर लुम्बिनीको भैरहवामा र २९ डिसेम्बरमा काठमाडौं उपत्यकामा डिजिटल संवाद कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरूलगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए । यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।









प्रतिक्रिया