
-अन्जनी कुमार अधिकारी
उदयपुर, १३ पुस । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष पनि सञ्चालन हुने भएको छ । यसअघि असोज १७ गतेदेखि प्रतियोगिता हुने भनिएको दशौं संस्करणको नारदमुनी गोल्डकप बाढीपहिरो र विपत्तिका कारण रोकिएको थियो ।
२००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ । बसाहा क्लबले असोजमा आएको बाढीपहिरोका कारण पूर्वनिर्धारित समय (असोज १७ गते)मा गोल्डकप गर्न असमर्थ भएको थियो । पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेको क्लबको बैठकले पूर्वमन्त्रीसमेत रहेका स्वर्गीय नारदमुनि थुलुङ राईको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरि माघ १५ गतेदेखि दशौं संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा यसअघि असोज १७ गतेका लागि तय गरिएका टिमहरु आयोजक बसाहा क्लबसहित साविकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र सङ्कटा एफ.सी. काठमाडौंले नै फेरि पनि सहभागीता जनाउने बताइएको छ । यद्यपि समय परिवर्तन भएसँगै क्लव पनि परिवर्तन हुन सक्ने क्लबका सल्लाहकार शेखर राईले जानकारी दिए ।
उनले समय परिवर्तन हुँदा पुरानै टिमले प्रतियोगितामा सहभागिता जनाउँछन् भन्ने टुंगो नहुने भएपनि अधिकांश यिनै टिमले भाग लिने बताए । खेल समय परिवर्तन हुँदा केही टिमलाई पूर्वनिर्धारित तालिका अनुसार खेल खेल्न अन्यत्र जानु पर्ने भयो भने टिम परिवर्तन हुने अन्यथा सबै टिमले सहभागिता जनाउने सल्लाहकार राईको भनाई छ ।
प्रतियोगिता यही माघ १५ गतेबाट माघ २२ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगदसहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, उपविजेताले २ लाख २५ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लबले जानकारी दिएको छ । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजार प्रमाणपत्र र मेडलसहित सम्मान गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया