सुरुङ्गा (झापा), २० असार । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्वन्द्वकालमा नेपालमा अपराध गरेर अन्तर्राष्ट्रिय अदालतबाट दोषी ठहरिने र कारबाही हुने अवस्था आए दुर्भाग्यपूर्ण हुने भन्दै द्वन्द्वकालका मुद्दाहरु आयोगमार्फत देशमै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको पाँच महिनापछि आयोगबारे जानकारी दिन र सुझाव सङ्कलन गर्न आज झापाको बिर्तामोडमा आयोजित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
शान्ति प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न, राज्य पक्ष र तत्कालीन द्वन्द्वरत् पक्षबाट भएका द्वन्द्वका घटनाको अध्ययन गरी पीडितलाई न्याय दिलाउने कुरामा आयोगले सबै पक्षसँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका अधिकांश सहभागीले मानवताविरोधी कार्य गर्ने, दण्डनीय अपराधका घटना गराउने तथा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई मेलमिलापका नाममा उन्मुक्ति दिन नहुने सुझाव दिएका थिए ।
अध्यक्ष गुरुङले पीडित र पीडक नमिलेको अवस्थामा आयोगले जबरजस्ती मेलमिलाप नगराउने स्पष्ट पार्दै आयोगले घटनाको प्रकृति र सत्यतथ्य बुझेर कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष जनक पाण्डे, पूर्व केन्द्रीय उपाध्यक्ष अशोक पोखरेल, झापा अध्यक्ष गजेन्द्र आचार्यलगायतले आयोगको स्वतन्त्रता र कार्यक्षेत्रसम्बन्धी जिज्ञासा राख्नुभएको थियो । रासस















प्रतिक्रिया