७ कार्तिक २०८३, शनिबार

वर्षदिन बित्यो, अझै बनेनन् बाढीले बगाएका संरचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-badhi

– सुदीप अधिकारी

बर्दिया,२० असार । सदरमुकाम आवतजावत गर्न वर्षौदेखि डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका पदनाहा रानिपुर क्षेत्रका जनता गतवर्ष बबई नदीको कुसुम्माघाटमा झुलुंगे पुल बनेपछि निकै खुशी भएका थिए । तर, उनीहरुको यो खुशीयाली महिना दिनसम्म पनि रहेन ।

पुल संचालनमा आएको महिना दिन नबित्दै गत साउनमा बबई नदीमा आएको बाढीले पुलको नामोनिसान नराखेर बगायो । त्यसयता पदनाहा, बनियाभर, मगरागढी र धधवारका जनतालाई सदरमुकाम आवतजावत गर्न उही डुंगाकै सहारा लिनु परेको छ ।

यसैगरी गत साउनकै बाढीले जिल्लाको पश्चिम क्षेत्रलाई सदरमुकामसँगै जोड्ने सरजु खोलाको पुल पनि भासियो । वर्षदिन यता पुलबाट आवतजावत बन्द भएको छ । त्यहाँ कामचलाउ कजवे बनाएर यातायात सुचारु गरिएको छ । बाढीले बगाएको परेवावडार क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको हालत पनि यस्तै छ । वर्षदिन बित्नै लाग्यो राजमार्ग मर्मत अधुरै छ । बाढीले भत्काएको नारायणपुरको पक्की पुल पनि अलपत्र छ ।

यस्ता बाढीले क्षति पुर्याएका यहाँ थुप्रै संरचना छन् । वर्षदिन बित्नै लाग्यो तर बाढीले बगाएका क्षती पुर्याएका संरचना निमार्ण र मर्मतमा राज्यको ध्यान पुग्न सकेको छैन । मर्मत गर्न लागिएका केही संरचना अधुरै छाडिएका छन् । बाढीले भत्काएको पूर्वपश्चिम राजमार्ग र नेपालगंज गुलरिया सडक मर्मत अधुरै छ । कालोपत्रे गर्नु पर्ने यी सडकमा ग्रेवल मात्र बिच्छाएर छाडिएको छ । सडक, पुल, पुलेसाजस्ता अत्यावश्यक संरचना नबन्दा यहाँका जनतालाई निकै सास्ती भएको छ । सदरमुकाम जोडने सरजु खोलाको पुल कहिले बन्ने हो केही टुंगो नै छैन । कजवे बनाएर यातायात सुचारु गरिए पनि बर्खामा आवागमनमा निकै समस्या पर्ने यातायात व्यवसायीको भनाई छ ।

गत साउनमा बबई नदीमा आएको बाढीले जिल्लामा लाखौँ रुपौँया बराबरको भौतिक संरचना क्षती पुरयाएको थियो । साना संरचाना मर्मत तथा निमार्ण भएपनि ठूला र महत्वपूर्ण संरचनाहरु पुनः निमार्णमा हुन सकेका छैनन् । सरकारी वेवास्ताका कारण आफुहरुले सास्ती व्यहोर्नु परेको जिल्लाबासीको गुनासो छ । ‘झुलुंगे पुल बनेपछि ढुक्क भएका थियौ । पुलमा चढ्न नपाउँदै बाढीले बगायो,’ पदनाहाका बाबुराम थारुले गुनासो पोख्दै भने, ‘पुल बगाएको पनि वर्ष दिन पुग्नै लाग्यो । अब बन्छ की बन्दैन । फेरी उही सास्ती खेप्नु पर्ने भो ।’