काठमाडौं, १८ असार । नेपालमा शक्तिशाली भूकम्प गएको दुई महिनापछि छिमेकी देश चीनलाई केन्द्रविन्दु बनाएर फेरि शक्तिशाली भूकम्प गएको छ ।
चीनको सिन्जियाङ प्रान्तमा शुक्रबार बिहान सबेरै ६.५ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४८ जना घाइते भएका अधिकारीहरुले पुष्टि गरेका छन् ।
स्थानीय समयमअनुसार शुक्रबार बिहान ९ः०७ मा सो भूकम्पको केन्द्रविन्दु होतान सहरको पिसान काउन्टीमा ३७.६ उत्तरी देशान्तर र ७८.२ डिग्री पूर्वी आंक्षाशमा १० किलोमिटर गरिहराइका रहेका चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिइएनसी) ले जानकारी दिएको छ ।
सो भूकम्प लगत्तै चीनमा फेरि भूकम्पका धक्का गएको बताइएको छ । सिइएनसीले सो भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको बताएको छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले भने सो भूकम्प ६.१ रिक्टर स्केलको भएको जानकारी दिएको छ ।
सो भूकम्पबाट भएको मानवीय र सपत्ति क्षतिको भने विस्तृत रुपमा विवरण प्राप्त भई नसकेको बताइएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया