म्याग्दी, १७ असार । बेनी नगरपालिका–१२ डडुवाकी रामकुमारी खत्रीले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा त्यससम्बन्धी कुनै कार्यक्रम थिएनन् ।
विसं २०५० मा रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको केही दिनमै कृषि कार्यालयमा पुगेकी खत्रीलाई कुनै पनि कार्यक्रम नभएको बताएपछि रित्तै फर्किइन् । “मौरीका बारेमा बुझ्दा कर्मचारीले मुखामुख गरे । रेडियो सुनेरै धेरैवर्ष मौरीपालन गरेँ” उनले भनिन् ।
तीनवटा काठको घारबाट मौरीपालन सुरू गरेकी खत्रीसँग अहिले ६० वटाको हाराहारीमा घार छन् । आवश्यक परेको बेलामा सरकारी तथा गैरसरकारी संस्थाबाट तालिम तथा प्राविधिक सहयोग नपाएको अवस्थामा सञ्चारमाध्यमको सहयोगमा मौरीपालनमा सफलता मिलेको उनको भनाइ छ । व्यवसायमा सफलता मिलेपछि तालिम र गोष्ठीमा सहभागिताको निम्तो आए पनि उनले आफ्ना स्थानमा श्रीमानलाई पठाउने गरेकी छन् । स्थानीय ज्योति निमाविमा शिक्षक रहेका श्रीमानलाई समेत उनले व्यावसायिक बनाउन सफल भएकी छन् ।
नेपाल सरकारले पहिलो पटक प्रदान गर्न लागेको युवा प्रतिभा खोजी पुरस्कारबाट कृषि उद्यमीका रुपमा आफू सम्मानित् हुनलागेको खबरले उनलाई थप हौसला मिलेको छ । “आत्मबल बढेको छ” उनले भनिन् । उनी युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यविधि २०७१ अन्तर्गत छनौटमा परेकी हुन् ।
खत्रीले वार्षिक ३०० किलोसम्म मह उत्पादन गरी वार्षिक रु तीन लाखसम्म आम्दानी गर्ने गरेको बताइन् । मौरीपालनसँगै आलु र फलफूलखेती समेत गरेकी छन् । छिमेकीलाई समेत निःशुल्क परामर्श दिने गरेकी छन् । खत्रीको सहयोगमा मौरीपालन गर्नेको सङ्ख्या तीनदर्जन भन्दा धेरै छन् । मौरीसहितको घारलाई रु चार हजार ७०० र प्रतिकिलो मह रु ८०० मा बिक्री हुने गरेको छ । मौरीको व्यवस्थापनका लागि कामदारको अभाव भएपछि उनले पुलाचौरको भिरमुनी, घतानको तोरीपानी, पात्लेखेतलगायतका क्षेत्रमा रहेका आफन्तको घरमा समेत पालेकी छन् ।
मौरी बेचेर चार रोपनी जग्गामा खत्रीले आलु समेत लगाएकी छन् । मौरीपालनको अवलोकन गर्ने गरी घारको सङ्ख्या ३०० सम्म बनाउने उनको लक्ष्य रहेको छ । जिल्लामा करिब तीन हजार ८०० घार रहेको कृषि विकास कार्यालयसित तथ्याङ्क छ । मौरीपालनका लागि उपयुक्त ठाउँका रुपमा बेनी नगरपालिकाको ज्यामरुककोट, पुलाचौर, घतानका साथै पात्लेखेत, भगवती, कहुँ,, भकिम्ली गाविस रहेको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लामा उत्पादित मह जापान, कोरियासम्म निर्यात हुने गरेको छ । यहाँ वार्षिक १९ टन मह उत्पादन हुने गरेको छ ।















प्रतिक्रिया