३० आश्विन २०८३, शुक्रबार

सबल र सुदृढ एनआरएनए जापानका लागि सुदन थापाले दिए अध्यक्षमा उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudan-thapa

जापान । सबल र सुदृढ एनआरएनए जापान बनाउने नाराका साथ एनआरएन जापानका वहालवाला उपाध्यक्ष सुदन थापाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । आफ्नो उमेद्वारी घोषणासँगै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारीको जानकारी गराउनुभएको छ । थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा आफ्नो २१ बुँदे घोषणापत्र पनि सार्वजनिक गर्नुभएको छ ।

थापाले जापानमा रहेका ४५ हजारको हाराहारीमा रहेका नेपाली मध्ये ३ हजारजति मात्र एनआरएनका पञ्जिकृत सदस्य रहेको अवस्था उल्लेख गर्दै एआरएनए सदस्य बन्ने हैसियत राखेका जापानमा बस्ने सबै नेपालीलाई एनआरएन जापानमा आवद्ध गराउने चुनौती रहेको बताउनुभएको छ । उहाले जापानमा रहेका सबै नेपालीहरुको साझा संस्था र अभिभावकको भुमिकामा एनआरएनए जापानलाई पुर्योउने उद्धेश्य आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

अध्यक्षका उम्मेदवारको रुपमा थापाले एआरएनए जापानमा आवद्ध नेपालीको डाटा अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै जापानमा रहनुभएका नेपालीहरु कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारे स्पष्ट तथ्यांक तयार पार्नका लागि क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सामान्य तरिकाले सामान्य काम गरिरहेका मान्छेहरुलाई एनआरएनए जापानको मुलप्रवाहमा जोड्ने तथा एनआरएनए जापान सामान्य गरिखानेहरुको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो भन्ने भावनालाई परिवर्तन गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत थापाले घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

गैर आबासीय नेपाली संघ, जापानको २०१५(२०१७ को लागि अध्यक्ष पदको उमेद्वारी घोषणा गर्दै थापाले आर्थिक पारदर्शितामा जोड दिदै थापाले यसका सन्दर्भमा मानक बनाएर काम गर्ने बताउनुभएको छ । जापानमा आकर्षक तलब र कामको लोभ देखाएर नेपालीसँग लाखौं रुपैया असुल्दै जापान ल्याई अलपत्र पारेको घटनालाई निरुत्साहित गर्न त्यस्ता व्यक्तिहरुको पहिचान र उनीहरुलाई एनआरएनएबाट वहिष्करण गर्ने प्रस्ताव समेत थापाले गर्नुभएको छ ।

अगस्त ३०, २०१५ मा संस्थाले निर्धारण गरेको अधिबेशनका लागि उमेद्वारी घोषणा गर्दै थापाले जापानी भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका साथीहरुको समुह बनाइ एनआरएनए मार्फत आवश्यक भएका साथीहरुलाई समुह बनाई प्रशिक्षण दिने कार्यको थालनी गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले प्राकृतिक विपत्तीका विषयमा विज्ञहरु सम्मिलित समुह बनाइ जनचेतनामुलक कार्यक्रमको थालनी गर्ने समेत बताउनुभएको छ ।

भुकम्पपछि नेपालमा गएर राहत कार्यक्रममा सहभागि आउनुभएका थापाले भुकम्पबाट नेपालको पर्यटन क्षेत्रमा पनि असर गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । वैदेशिक मुद्राको स्रोतको रुपमा रहेको पर्यटन उद्योग भुकम्पका कारण खस्किएको अवस्थामा जापानीहरुलाई नेपाल लैजान विशेष अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो। यसका लागि थापाले ुएक एनआरएन एक पर्यटकु अभियान शुरु गर्न एनआरएनए जापानलाई क्रियाशिल गराउने प्रस्ताव सार्नुभएको छ । साथै जापानमा नेपाली संस्कृति र खानालाई पहिचान गराउन नेपाली फेस्टिवललाई जापानका मुख्य शहरहरुमा मात्र नभइ हरेक क्षेत्रमा आयोजना गर्ने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ ।

नेपालमा असार १० गते भएको दाता सम्मेलनमा सहभागिता जनाउनुअघी जापानी परराष्ट्र मन्त्रालयले एनआरएनएप्रति देखाएको अभिरुचीबाट पनि जापानमा रहेका एनआरएनका समस्याहरुलाई उजागर गर्न सम्भव हुने देखिएकोमा थापा आशावादी हुनुभएको छ । यस अवसरलाई सदुपयोग गर्दै नेपाली समाज र जापानी समाजबीच सम्वन्ध स्थापना गर्दै नेपाली र स्थानिय प्रसासन तथा केन्द्रिय प्रसासन बीचको सम्वन्ध स्थापना गर्दै नीतिगत निर्णयहरु गराउन पहल गर्ने थापाले चुनावी घोषणापत्रमा जनाउनुभएको छ ।

जापानमा रहेका नेपालीहरुलाई भैपरि आउने समस्यामा खर्च हुनेगरि ५ करोड येनको आकस्मिक कोष स्थापना गर्न लागिपर्ने उल्लेख गर्दै कोष स्थापनार्थ डिसेम्बर २० तारिखमा थापाकै संयोजकत्वमा नेपालका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको कलाकारहरुको समुह च्यारिटी कार्यक्रमको लागि जापान ल्याउने व्यवस्था गरिएको उहाँले प्रष्ट्याउनुभएको छ ।

नेपालमा जापानी लगानी भित्र्याउन परामर्श तथा सहयोगको निम्ति जापानमा रहनुभएका विज्ञ, लगानीकर्ता, व्यवसायी सम्मिलित एक समुह गठन गर्न प्रस्ताव गर्दै उहाँले जापानमा रहेका नेपाली व्यवसायी तथा नयाँ व्यवसायीलाई सहयोगको निम्ति विजिनेस सपोर्ट सेन्टरको स्थापनाको पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गर्दै आपसी व्यापार प्रवर्दन गर्नेतर्फ लाग्ने योजना अघी सार्दै थापाले नेपाली बस्तु तथा सेवालाई जापानी बजारमा प्रबर्द्धन गर्ने काममा लाग्ने समेत बताउनुभएको छ ।

रोजगारी तथा अध्ययनका लागि आउनुभएका नेपालीको सहयोगको लागि हेल्प डेस्कलाई जापानका हरेक क्षेत्रमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले एनआरएनए जापानले शुरुवात गरेका हेल्प लाइन, ड्रीम नेपाल जस्ता कार्यक्रमलाई अझ व्यवस्थित रुपमा अघी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भुकम्पबाट प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्दै जापानका सम्पूर्ण संघ संस्थाहरुसँग सरसल्लाह र समन्वय गर्दै नेपालका भुकम्पीय क्षेत्रमा विद्यालय स्थापना गर्न बिशेष पहल गर्ने उहाँले आफ्नो घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

राजदुतावासँगको सम्वन्ध अझ सुदृढ बनाउँदै सम्पूर्ण समुदायलाई समेटेर अघी बढ्ने प्रतिबद्धता समेत थापाले जनाउँनुभएको छ । एनआरएनए जापानको सदस्यता व्यवस्थापनको कामलाई प्राथमिकतामा रिखेर काम गर्ने उल्लेख गर्दै अध्यक्षका उमेद्वार थापाले सम्पूर्ण सदस्यको तथ्याङक व्यवस्थित तरिकाले राखिने जनाउनुभएको छ ।

काठमाडौंमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि एनआरएनए जापानले नेतृत्वदायि भुमिका निर्वाह गर्ने जनाउँदै उहाँले परिषदले भने अनुसार भवन निर्माणका लागि सहयोग राशी संकलन गर्ने जिम्मेवारी पुरा गर्नेमा थापा आफू क्रियाशिल हुने बताउनुभएको छ ।
स्थापनाकालदेखि नै एनआरएन जापानले एनआरएनए अभियानमा निर्वाह गरेको भुमिकालाई अझ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दै थापाले विगत लामोसमयदेखि नै एनआरएनए अभियानमा अग्रपंक्तिमा रहेर क्रियाशिलता देखाउँदै आएको पुस्ताको सम्मान गर्दै नयाँ पुस्ताको साथ लिएर एनआरएन जापानलाई अझ क्रियाशिल बनाउने लक्ष्य राख्नुभएको छ ।

थापा यसअघी सन् २००८मा एनआरएनए जापानको कार्यसमिति सदस्यमा दुई बर्षका लागि निर्वाचित हुनुभएको थियो । सन् २०११ देखि २ बर्षका लागि एनआरएनए आइसिसीको युवा प्रतिनिधीको रुपमा समेत थापाले काम गर्नुभएको छ । सन् २०१३देखि २ बर्षका लागि एनआरएन जापानको उपाध्यक्षमा निर्वाचित भए यता एनआरएनएका हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाएको थापाले बताउनुभएको छ।

‘एक दशक लामो बसाइ, भोगाई तथा यहाँहरुको साथमा निरन्तर रहेको सामाजिक सक्रियतामा सिकेका ज्ञान, सिप, अनुभब र नेपालीहरुको सामाजिक मागहरुको संयोजन गर्दै आफुलाई सामाजिक कार्यमा केहि समय समर्पण गर्ने दृढ अठोट बोकेर सबै गैर आबासीय नेपालीहरुको साझा संगठन गैर आबासीय नेपाली संघ, जापानको आगामी कार्यकाल २०१५/२०१७ को लागि अध्यक्ष पदको उमेद्वारी घोषणा गर्दछु ।’ थापाको घोषणापत्रमा उल्लेख छ ।

सबल र सुदृढ एनआरएनएका लागि यस्तो छ सुदन थापा प्रतिबद्धता :

– सुदन थापा

नमस्कार ।

जापानमा रहुनभएका सबै गैर आवासिय नेपालीहरुमा अध्यक्षका उमेद्वारको रुपमा हार्दिक अभिवादन गर्दछु । उमेद्वारको रुपमा तपाइमाझ आफूलाई प्रस्तुत गर्दैगर्दा १० बर्षअघी विद्यार्थीको रुपमा अपार सम्भावनाको देश भनेर चिनिएको जापान आउँदाको दिन सम्झिरहेको छु । २०४६ अघी आम सर्वसाधारणले शिक्षा तथा रोजगारको लागि विदेश जानु विरलै हुन्थ्यो।  प्रजातन्त्र पुनर्स्थापित भएपछि आम नेपालीहरु विभिन्न देशमा शिक्षा तथा  रोजगारका लागि पुग्नेक्रम बढ्यो । जापानमा पनि नेपालीहरुको उपस्थिति यो साँढे दुई दशकमा ह्वात्तै बढ्यो। संसारभर नेपालीहरुको उपस्थिति बढ्दै जाँदा गैरआवासिय नेपालीहरुको हकहितका लागि गैरआवासिय नेपाली संघ एनआरएनए गठन भएको यहाँहरुलाई विदितै छ ।

एनआरएनए स्थापना हुनु अघि देखिनै  जापानमा रहनुभएका अग्रज अभियन्ताहरुले निर्वाह गर्नुभएको भुमिका एनआरएनए भियानमा स्वर्णाक्षरले लेखिनेछ । यहि दौरानमा हामीले एनआरएनए जापानबाटै एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्व समेत पाइसकेका छौ । वर्तमान कार्यसमितिमा पनि हामीले उपाध्यक्ष  जस्तो गरिमामय पदमा हाम्रै अग्रजलाई पाइराखेका छौ । यो हाम्रो लागि गर्वको कुरा हो । एनआरएनएले उठाएका मुद्धाहरुलाई तार्किक निष्कर्षमा पुर्‍याउन जापानबाट अग्रणी भुमिका समेत खेलिदै आएको छ । नेपालमा लगानी भित्र्याउन होस वा नेपालबाट जापान आएर विभिन्न पेशा व्यवसाय गरि बसेकाहरुबीचमा एनआरएनए जापानले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ।

एनआरएनए जापानको भुमिकाबाट प्रेरित भएर जापानमा रहेका हजारौ नेपालीहरु यसमा जोडिन लालायित देखिएका छन् । कतिपय कारणबाट धेरैजना अहिलेसम्म यसमा जोडिन नसकेपनि यसमा जोडिन चाहनेहरुको संख्या यो सम्मेलनका क्रममा  बढने अनुमान गरिएको छ।

जापान, एनआरएनए र म
विद्यार्थीको रुपमा जापान आएर अध्ययन गर्दागर्दै सन् २००६बाट जापानमा आफ्नै कामको शुरुवात गरे । प्रवासमा रहेर अनेक दुखहरुसँग पौठाजोरी खेल्दै अध्ययन र व्यवसायलाई समानान्तर रुपमा लैजादै गर्दा एनआरएनएको गतिविधीमा पनि आफूलाई समावेश गराए । एनआरएनए जापानमा पञ्जिकृत सदस्यको रुपमा काम गर्दै जाँदा सन् २००८मा एनआरएनए जापानको कार्यसमिति सदस्यमा दुई बर्षका लागि निर्वाचित भए । यहि बिचमा सन् २०११ देखि २ बर्षका लागि एनआरएनए आइसिसीको युवा प्रतिनिधीको रुपमा अनुभव सँगाल्ने मौका पाए ।

सन् २०१३देखि २ बर्षका लागि एनआरएन जापानको उपाध्यक्षमा निर्वाचित भए यता एनआरएनएका हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सहभागि हुँदै आएको छु। तपाइहरुले गर्नुभएको विश्वासका कारण कायसमितिमा रहेर एनआरएनए जापानको गतिविधिमा समाहित हुने अवसर पाएको छु ।

जापानमा रहेका हरेक नेपालीको सुख दुखमा मात्र होइन नेपालमा रहेका नेपालीहरुको सुख दुखमा पनि एनआरएनएले साथ दिदै आएको छ। यस अर्थमा समाजसेवा गर्न उर्जा प्रदान गर्ने संस्थाका रुपमा समेत एनआरएनएलाई लिइदै आएको छ। त्यहि उर्जाबाट थप प्रेरित हुँदै जापानका हरेक विपत्तीमा, सुखदुखमा जापानवासी नेपालीलाई सहयोग गर्दै आएका छौ । नेपालमा आएको विनाशकारी भुकम्पपछि एनआरएन आइसिसीले सञ्चालन गरेको भुकम्प राहत वितरण कार्यक्रम अन्तरगत रामेछापको राहत वितरण कार्यक्रमको संयोजन गरेर जापान आएको छु। रामेछापका १० गाविसका २०४५ घर परिवारलाई राहत वितरण गरियो भने सिन्धुपाल्चोकका ३ गाविसका ११५४ घर परिवारलाई पनि हामीले राहत वितरण गरेका छौं।

जापानमा रहँदा स्टेशनदेखि सडक सफा गर्ने काम होस वा विपत्तीमा परेका नेपालीलाई सहयोग गर्न सडकमा बसेर सहयोगका लागि अपिल गर्ने कुरा यहि एनआरएनएको समाजसेवी भावनाको प्रेरणाबाट सम्भव भएको हो। जापानमा हुने नेपाल फेस्टिवलमा अग्रपङतिमा रहेर गरेको कामको साथीहरुले सह्राना गरेका कारण पनि साथीहरुको भावना अनुसार नै अगाडी बढ्ने योजना बनाएको छु। यो मेरो व्यक्तिगत भन्दा पनि एआरएनलाई सबल र सुदृढ बनाउने योजना अन्तर्गत नै हो ।

हामीहरुले गरिरहेको कामलाई अझ समयानुकुल चुस्त र प्रभावकारी बनाउन एनआरएन जापानका अग्रजहरु, सहयोद्धा साथीहरु र शुभेच्छुकहरुको सल्लाह, परामर्श र हौसलाबाट मैले आफ्नो उमेद्वारी घोषणा गरेको छु। एक दशक लामो बसाइ, भोगाई तथा यहाँहरुको साथमा निरन्तर रहेको सामाजिक सक्रियतामा सिकेका ज्ञान, सिप, अनुभब र नेपालीहरुको सामाजिक मागहरुको संयोजन गर्दै आफुलाई सामाजिक कार्यमा केहि समय समर्पण गर्ने दृढ अठोट बोकेर सबै गैर आबासीय नेपालीहरुको साझा संगठन “गैर आबासीय नेपाली संघ, जापानको आगामी कार्यकाल २०१५-२०१७ को लागि अध्यक्ष पदको उमेद्वारी घोषणा गर्दछु ।

अगस्त ३०, २०१५ मा संस्थाले निर्धारण गरेको अधिबेशन पश्चात निर्माण हुने जापानका नेपालीहरुको सामाजिक नेतृत्व अझै अनुभबी, समाबेशी, समाजप्रति उतरदायी, पारदर्शी र कार्य योजना पुरा गर्न सक्ने क्षमताबान हुन जरुरी छ। कार्यसमिती सदस्य, एनआरएनए आइसिसी , उपाध्यक्ष हुँदै लामो समयसम्म एनआरएनए भित्र खारिएको मेरो नेतृत्व  जापानको नेपाली समाजमा सक्रिय सम्पूर्ण संघसंस्थाहरु, समुदाय, अग्रजहरु, युवाहरु, नवपुस्ता सबैलाई समेट्दै साझा र सर्वसम्मत कार्यसमिति निर्माण गर्न फलदायि हुने बिश्वासका साथ अगाडी आएको छ।

हाम्रा अगाडी समस्या र चुनौतिहरु अनगिन्ति छन् । एकता र बिश्वासको भाबनाले सम्पूर्ण चुनौतीहरुलाई चिर्दै नेपाली समाजले गर्ब गर्न सक्ने बाटो निर्माण गर्न मेरो नेतृत्वको एनआरएनए कार्य समिति निर्वाचित भएमा क्रियाशील रहने विश्वास दिलाउन चाहन्छु। बिदेशमा रहेपनि नेपालीपनमा रम्न पाउने वाताबरण निर्माण गर्ने सामाजिक उत्तरदायित्व र भाइचाराको विकास एनआरएनएले निरन्तर राख्नेछ। सबैलाई आत्मसम्मान र भावनात्मक प्रेरणा दिदै नेपाल र नेपालीको सामाजिक परोपकारमा गुणात्मक विकासमा हामी जोड दिनेछौ। म पनि सेवा गर्छु र अरुलाई पनि सेवा भावनाले अग्रसर हुन प्रेरक बन्छु भन्ने कार्येशैली हामीले लिनेछौं।

नेपालीका सम्पूर्ण संघ संस्थाका हरेक अभियानहरुको एनआरएनएले उचित प्रोत्सान र प्रबर्दन गर्नेछ। जापान सरकार तथा नेपाल र नेपाल सरकारबाट पाउनु पर्ने सुविधाहरुको प्राप्तिमा सहजीकरणको माध्यम एनआरएनए बन्ने छ ।

उमेद्वारी घोषणासंगै एनआरएनएमा सक्रिय भूमिका निर्बाह गर्न चाहने सम्पूर्ण मित्रहरुलाई सहकार्यको हार्दिकता, लचकता, खुलापन, सामुहिक भावनाको स्मरण गरौँ भन्ने अनुरोध पनि गर्दछु ।

तपाइ हामी सबैको प्रयासमा एनआरएनए जापानलाई नयाँ उचाइमा पुर्याउन र एनआरएनए जापान मार्फत एनआरएनए अभियानलाई अझ सबल सुदृढ बनाउन प्रतिबद्धता दोहोर्याउँदै अध्यक्ष पदमा मेरो उमेद्वारी घोषणा गरेको छु। आशा छ तपाइहरुबाट अनुमोदन हुनेछ।

अध्यक्षको उमेद्वारको रुपमा मेरा प्रतिबद्धताहरु

एनआरएनए जापानका उपाध्यक्षको रुपमा तपाइहरुले मलाइ पक्कै नियाल्नुभएको छ । मैले पाएको जिम्मेवारी अनुसार के गरे सबै तपाइहरुको अगाडी छ । अधिकांश जापानवासी नेपालीहरुको सकारात्मक प्रतिक्रियाको बलमा मैले अध्यक्षमा उमेद्वारी दिने आँट गरेको छु । यो आँटको कारक तपाइहरुले देखाउनुभएको भरोसा नै हो ।  तपाइहरुको भरोसालाई जिउँदो राख्दै मैले अध्यक्ष पदमा आफूलाई उभ्याइरहँदा केहि प्रतिबद्धता राख्न चाहेको छु ।

१ क्रियाशिल नेतृत्व

स्थापनाकालदेखि नै एनआरएन जापानले एनआरएनए अभियानमा निर्वाह गरेको भुमिकालाई अझ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।  विगत लामोसमयदेखि नै एनआरएनए अभियानमा अग्रपंक्तिमा रहेर क्रियाशिलता देखाउँदै आएको पुस्ताको सम्मान गर्दै नयाँ पुस्ताको साथ लिएर एनआरएन जापानलाई अझ क्रियाशिल बनाउने लक्ष्य लिएको छु ।

२ एनआरएन जापानलाई सबै नेपालीको संस्था बनाउने

जापानमा रहेका नेपालीको संख्या ४५ हजारको हाराहारीमा छ । तर एनआरएनए जापानमा ३ हजारजति पञ्जिकृत सदस्य छन् । एआरएनए सदस्य बन्ने हैसियत राखेका जापानमा बस्ने सबै नेपालीलाई एनआरएन जापानमा आवद्ध गराउने चुनौती छ । जापानमा रहेका सबै नेपालीहरुको साझा संस्था र अभिभावकको भुमिकामा एनआरएनए जापानलाई पुर्‍याउने उद्धेश्य मेरो रहनेछ।

३ डाटा अद्यावधिक गर्ने

एआरएनए जापानमा आवद्ध नेपालीको डाटा अद्यावधिक गर्नुपर्ने आवश्यकता धेरैले उठाउनुभएको छ । यहाँ रहनुभएका नेपालीहरु कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारे स्पष्ट तथ्यांक तयार पार्नका लागि म क्रियाशिल हुनेछु ।

४ सामान्य काम गरिरहेकाहरुलाई मुलप्रवाहमा जोड्ने

भीसा स्टाटस हेरेर मूल्याङकन गर्ने चलनमा परिवर्तन ल्याउन क्रियाशिल हुनेछु । सामान्य तरिकाले सामान्य काम गरिरहेका मान्छेहरुलाई एनआरएनए जापानको मुलप्रवाहमा जोड्ने तथा एनआरएनए जापान सामान्य गरिखानेहरुको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो भन्ने भावनालाई परिवर्तन गर्न कटिबद्ध भएर लाग्नेछु ।

५ आथिक पारदर्शिता

एनआरएनए जापान बाहिरबाट हेर्दा धेरै नै आकर्षक रहेको छ। यो आकर्षणलाई आर्थिक पारदर्शितासँगै जोडेर हेर्नुपर्छ। आर्थिक पारदर्शिताको सन्दर्भमा हामीले मानक बनाएर काम गर्ने छौ।

६ नेपालीहरुलाई दुख दिनेहरुलाई बहिष्करण

जापानमा आकर्षक तलब र कामको लोभ देखाएर नेपालीसँग लाखौं रुपैया असुल्दै जापान ल्याई अलपत्र पारेको घटना बढ्दै जाँदा यस्ता घटनालाई निरुत्साहित गर्न त्यस्ता व्यक्तिहरुको पहिचान र उनीहरुलाई एनआरएनएबाट वहिष्करण गर्न अत्यन्त जरुरी छ। यसका लागि म क्रियाशिल भएर लाग्ने  छु ।

७ जापानी भाषा र अध्यागमन कानुनबारे संस्थागत रुपमा जानकारी गराउनुपर्ने

जापानी भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका साथीहरुको समुह बनाइ एनआरएनए मार्फत आवश्यक भएका साथीहरुलाई समुह बनाई प्रशिक्षण दिने कार्यको थालनी गर्ने छु । साथै प्राकृतिक विपत्तीका विषयमा विज्ञहरु सम्मिलित समुह बनाइ जनचेतनामुलक कार्यक्रमको थालनी गर्नेछु ।

८ नेपाल फेस्टिवल केन्द्रमा मात्र नभएर विकेन्द्रित गर्ने

नेपाली संस्कृति र खानालाई पहिचान गराउन जापानमा हुँदै आएको नेपाली फेस्टिवललाई जापानका हरेक क्षेत्रमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

९ एक एनआरएन एक पर्यटक

भुकम्पबाट नेपालको पर्यटन क्षेत्रमा पनि असर गरेको छ । वैदेशिक मुद्राको स्रोतको रुपमा रहेको पर्यटन भुकम्पका कारण खस्किएको अवस्थामा जापानीहरुलाई नेपाल लैजान विशेष अभियान सञ्चालन गर्ने एक एनआरएन एक पर्यटक अभियान शुरु गर्न एनआरएनए जापानलाई क्रियाशिल गराउनेछु ।

१० जापानी सरकारसँग सहकार्य तथा जापानी लगानीकर्ता नेपाल लैजान प्रेरित गर्ने

जापानी परराष्ट्र मन्त्रालयले एनआरएनएप्रति देखाएको अभिरुचीबाट पनि यहाँका समस्याहरुलाई उजागर गर्न सम्भव हुने देखिएको छ । यसलाई अवसरको रुपमा सदुपयोग गर्न लाग्नेछु । नेपाली समाज र जापानी समाजबीच सम्वन्ध स्थापना गर्दै नेपाली र स्थानिय प्रसासन तथा केन्द्रिय प्रसासन बीचको सम्वन्ध स्थापना गर्दै नीतिगत निर्णयहरु गराउन पहल गर्नेछु ।

११ आकस्मिक कोष स्थापना

जापानमा रहेका नेपालीहरुलाई भैपरि आउने समस्यामा खर्च हुनेगरि ५ करोड येनको आकस्मिक कोष स्थापना गर्न लागिपर्नेछु । नेपालमा जापानी लगानी भित्र्याउन परामर्श तथा सहयोगको निम्ति जापानमा रहनुभएका विज्ञ, लगानीकर्ता, व्यवसायी सम्मिलित एक समुह गठन गर्नेछु । कोष स्थापनार्थ डिसेम्बर २० तारिखमा मेरो संयोजकत्वमा नेपालका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको कलाकारहरुको समुह च्यारिटी कार्यक्रमको लागि जापान ल्याउने व्यवस्था गरिएको छ ।

१२ विजिनेस सपोर्ट सेन्टरको स्थापना

जापानमा रहेका नेपाली व्यवसायी तथा नयाँ व्यवसायीलाई सहयोगको निम्ति विजिनेस सपोर्ट सेन्टरको स्थापनाको पहल गर्नेछु ।

१३ नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय

नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गर्दै आपसी व्यापार प्रवर्दन गर्नेतर्फ लाग्नेछु । नेपाली बस्तु तथा सेवालाई जापानी बजारमा प्रबर्द्धन गर्ने काममा लाग्नेछु ।

१४ हेल्प डेस्कलाई जापानका हरेक क्षेत्रमा स्थापना गर्ने

रोजगारी तथा अध्ययनका लागि आउनुभएका नेपालीको सहयोगको लागि हेल्प डेस्कलाई जापानका हरेक क्षेत्रमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

१५ एनआरएनए उद्धेश्य र नीति र कार्यक्रमलाई सक्रियतापूर्वक समर्थन जारी राख्ने

एनआरएनए जापानले शुरुवात गरेका हेल्प लाइन, ड्रीम नेपाल जस्ता कार्यक्रमलाई अझ व्यवस्थित रुपमा अघी बढाउने छु।

१६ एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्ने

भुकम्पबाट प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्नेछु । साथै अन्य नीतिगत तहमा पनि परिषदसँग समन्वयमा रहेर काम गर्नेछु ।

१७ जापानमा रहेका स्थानिय संघ संस्थाहरुसँग समन्वय गर्ने

एनआरएनए जापानको संस्थागत संरचना बलियो बनाउँदै जापानका संघ संस्थासँग हातेमालो गर्दै सुझाव सल्लाहबाट अघी बढ्ने छु । जापानमा रहेका सम्पूर्ण संघ संस्थासँग समन्वय कमि भएको महशुस गरिएको पृष्ठभुमिमा यसलाई सुधारेर लैजाने छु ।

१८ राजदुतावासँगको सम्वन्ध

राजदुतावासँगको सम्वन्ध अझ सुदृढ बनाउँदै सम्पूर्ण समुदायलाई समेटेर अघी बढ्ने प्रतिबद्धता जनाउँछु ।

१९ सदस्यता व्यवस्थापन

एनआरएनए जापानको सदस्यता व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर काम गर्नेछु । साथै सम्पूर्ण सदस्यको तथ्याङक  व्यवस्थित तरिकाले राखिने छ ।

२० एनआरएन भवन निर्माणमा नेतृत्वदायि भुमिका

काठमाडौंमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि एनआरएनए जापानले नेतृत्वदायि भुमिका निर्वाह गर्नेछ । परिषदले भने अनुसार भवन निर्माणका लागि सहयोग राशी संकलन गर्ने जिम्मेवारी पुरा गर्नेछु ।

२१ भुकम्प पिडित क्षेत्रमा विद्यालय स्थापना गर्न विशेष पहल गर्ने

जापानका सम्पूर्ण संघ संस्थाहरुसँग सरसल्लाह र समन्वय गर्दै नेपालका भुकम्पीय क्षेत्रमा विद्यालय स्थापना गर्न बिशेष पहल गर्ने ।

धन्यवाद।

सबै जापानवासी नेपालीको जय होस।

२०७२ असार १५