
काठमाडौं, २१ असोज । भारत सरकारले शुक्ला गण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीनसय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ ।
भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँदिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले प्रतिबद्धता जनाएको हो ।
त्यस क्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नकालागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाउनु भयो । यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियानकार्यान्वयनकालागि सघाउन स्वास्थ्यतथा जनसंख्यामन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अब केही समयमा यसबारे द्विपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकार गर्नुभएको छ ।








प्रतिक्रिया