२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितका घरघरमा पुग्दा जे देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Dhungel

हामी नेपालीको भयभित मनलाई सम्हाल्न चाहन्छौं । अस्तव्यस्त भएको भूकम्प प्रभावित मानव समाजलाई पुनः सुचारु गराउन चाहन्छौं । हामी राजनीतिक पार्टी र त्यसका नेता कार्यकर्ताको काम चुनावमा मत माग्ने र पार्टी र नेतृत्वको मान बढाउने मात्र होइन्, जनताको दुख पीडा र अप्ठेरोमा भरपर्दो र जिम्मेवारपूर्ण साथीको रुपमा जनताको विश्वास जागृत गर्न चाहन्छौं । हामी यतिवेला ठूलो र सानोको भेदभाव मेट्न चाहन्छौं र एउटा राष्ट्रिय स्वयम् सेवक अभियानमा भूकम्प पीडित जनताको साथमा सिंगो पार्टी पंक्तिलाई एकाकार गर्दै समाजलाई सहज ढंगले अगाडि वढाउन परिचालित गर्न चाहन्छौं । यहि भावना र मर्मलाई बोकेर हामी नेकपा एमालेको राष्ट्रिय स्वयम्सेवक अभियान २०७२ मा खटिएका थियौं । यसरी हरेक पार्टी कार्यकर्ताहरुलाई यो स्वयमसेवक अभियानमा इमानदारपूर्वक श्रमिक भएर परिचालित हुन पार्टीको विशेष निर्देशन गरिएको थियो ।

भूकम्पवाट अति प्रभावित क्षेत्र भनि परिभाषित भएका १७ जिल्लाका ५१ वटा निर्वाचन क्षेत्रमा पार्टी केन्द्रीय सदस्यहरुलाई संयोजक वनाएर स्वयम्सेवक अभियानको पूर्वसध्यामा “म नेकपा एमालेद्वारा सञ्चालित यस भूकम्पपीडित राहत तथा पुनस्थापना राष्ट्रिय स्वयंसेवक अभियानमा सहभागी भई मन, वचन र कर्मले पीडित जनताको सेवा गर्न तथा यस बिपत्तिवाट राष्ट्रलाई मुक्त गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्न एवम् यस अभियानमा सेवाभाव, समर्पण र नैतिक आदर्शका साथ सहभागी हुने प्रण गर्दछु” भनि लेखिएको सपथ पार्टी अध्यक्षले सवै स्ययंसेवकहरुलाई गराएर एक महिनाका लागि एक निर्वाचन क्षेत्रमा एक सय स्वयमसेवकको टीमसहित २०७२ जेष्ठ १० भृकुटीमण्डप परिसरवाट बिदा गरिएको थियो । श्याम तमोटले लेख्नुभएको तथा रामेश र रायनहरुले गाउनु भएको गाउँ गाउँवाट उठ वस्ती वस्तीवाट उठ…………..भन्ने जनताको जनजिब्रोमा परिचित र लोकप्रिय प्रगतिशील गीतलाई यो अभियानको गीत वनाइएको थियो ।

यो अभियानमा पार्टीले दश हजार कार्यकर्ता परिचालित गर्ने घोषणा गरेको भए पनि लाखौं जनता र थप हजारौं कार्यकर्ताहरुको साथ र योगदान यो अभियानले प्राप्त गर्न सकेको छ । समापनको क्रममा पार्टीले २५००० जनताका घर टहरा र १००० स्कुलका अस्थायी भबन बनाएको हजारौँ जनताका घर र सामुदायिक भवनका भग्नावशेष हटाउन सहयोग गरेको जानकारी गराउनु भएको थियो । यसवाट प्रष्ट हुन्छ कि एमालेले सञ्चालन गरेको यो अभियान अपेक्षा अनुुसार सफल भएको छ ।

तराईका कमरेडहरु पहाडका विभिन्न जिल्लामा राहतका गाडी लिएर उद्दार र स्वयंसेवकीय काममा खटिनु यो अभियानको विशेषता रह्यो । अखिल र युवासंघका कार्यकर्ताहरु जनताको टहरो वनाउन उत्साहित भएर लागि पर्नु अर्को सकारात्मक पक्ष रहेको थियो । विशेषगरि बन्द भएका विद्यालयहरुलाई भग्नावशेष हटाएर स्थानीय साधन श्रोतको प्रयोग गरी अस्थायी टहरा वनाएर होस् या खुल्ला आकाश मुनि राहतवाट प्राप्त भएको त्रिपाल टाँगेर किन नहोस् ? बिद्यालयहरुको सञ्चालनमा एमालेको यो अभियान सन्जीवनी बुटी नै साबित भएको थियो । जबकी सरकारले विद्यालय खोल्ने उद्घोष गरेको भएपनि स्कुलको जोखिमपूर्ण भौतिक अवस्थाका कारण कार्यान्वयन हुन सक्ने अवस्था थिएन ।

पंक्तिकार पनि यो अभियानमा रामेछापको क्षेत्र नं २ खटिएको थियो । जेष्ठ १० गते काठमाडौँको भृकुटीमण्डपवाट विदाई भइसकेपछि काठमाडौँ बस्न मन लागेन । ११ गते नै पार्टीले तयार गरि दिएको यातायातको साधन र खाद्य सामग्री र किलाकाँटा, हम्बर, गैंची र साबेल वोकेर रामेछाप लागियो । कर्णालीको कर्मठ र जुझारु पार्टीको स्वयम्सेवक टीम पूर्वमाननीय चन्द्रबहादुर शाहीको नेतृत्वमा र शान्तामाया परियारको नेतृत्वको खेलकुद महासंघको टीम रामेछाप खटिएको थियो । १२ गते बिहानै पार्टी जिल्ला कमिटीको बैठक बसेर परिचयसहित कर्णाली पार्टी र खेलकुद महासंघको टोलीलाई स्वागत गरियो र त्यसैदिन दिउँसो चन्द्रबहादुर शाही नेतृत्वको स्वयम्सेवक टोली रामेछापको क्षेत्र नं २ को श्री भिमेष्वर रुद्र मावि चिसापानी र शान्तामाया परियारको टोली रामेछापको क्षेत्र नं १ को श्री कालिका निमावि ठूलीमदौ खटिएको थियो ।

चिसापानी र गेलुका प्रायः सबै विद्यालयहरुका भग्नावशेष हटाएर स्थानीय जनताको सहयोगमा उपलब्ध श्रोत साधनको प्रयोग गरी अस्थायी टहरा निर्माण गरि अभिभावकलाई स्कुल सुरक्षित छ भन्ने विश्वास जागृत गराउन यो अभियानको भूमिका निकै महत्वपूर्ण रह्यो । केही ठाउँमा त हाम्रो स्वयम्सेवक टोली कामदार जस्तो र अरु सबै मालिक जस्तो ठान्ने मनोविज्ञान पनि देखियो । तर, अधिकांश ठाउँमा जनताको ठूलो साथ प्राप्त भयो । वास्तवमा हामी सँगसँगै काम गर्ने उत्प्रेरक भयौं जनताले धेरै ठूलो मिहिनेत गरे काम यति छिटो भयो कि दशौँ दिन लाग्ने काम एकैछिनमा सम्पन्न भएको देख्दा देश बन्छ र बनाउन सकिन्छ भन्ने विश्वास जागृत भएको थियो । मन्थली र रामेछापका विद्यालयहरुमा भग्नावशेष हटाई अस्थायी भवन वनाउन भरपूर सहयोग पु¥याएर कर्र्र्र्णालीको स्वयम्सेवक टीमले बिदा भएको थियो ।

काम कति भयो, सायद त्यो पनि त्यति ठूलो कुरा होइन् तर कर्णाली जस्तो टाढा र विपन्न ठाउँका एमालेका कार्यकर्ता आएर रामेछापको भूगोलमा हातमा ठेला र फोका उठाएर आफ्नै घर बनाए जस्तो गरी, आफ्नै गाउँ भासिए जस्तो पीडाको बोध गरी दिनको १८ घण्टा खटेको सन्दर्भ भने रामेछापेली जनताको लागि बिर्सनै नहुने विषय हो । त्यसैले कर्णालीका ती जुझारु र कर्मठ योद्धाहरुलाई रामेछापको सलाम छ ।

पार्टीले जुन क्षेत्रमा खटायो त्यही क्षेत्रमा बढ्ता सहयोग पु¥याउँ जस्तो त लाग्ने नै भयो । अभियानको क्रममा हिँड्दा जनताको जे समस्या राखेका थिए, त्यही स्थान जनताकै बीचमा बसेर कुनै सहयोग गर्ने संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्वाद गरि समस्याको बारेमा जानकारी गराउने र सहयोगको अपील या आग्रह गर्ने गरियो । संघ संस्थाहरुको साथ राम्रो नै रह्यो जसका कारण धेरै भन्दा धेरै ठाउँमा आवश्यक राहत पु¥याउन सकियो । हाम्रो विशेष अनुरोधमा नेकपा एमालेको ठमेल पर्यटन इलाकाको मुक्ति पाण्डे नेतृत्वको टिमले सम्पूर्ण खर्च आफै जुटाएर क्षतविक्षत भएको टोकरपूरको नवज्योति निमाविको अस्थायी भवनको निर्माण गरेको थियो भने पोखरा टुरिजमको रमेश पौडेल नेतृत्वको टीमले गौस्वराका दुईवटा भवनका लागि जस्ता समेत उपलव्ध गराई निर्माण कार्य अगाडि वढाइएको थियो ।

समग्रमा हामीले अधिकांश स्कुलहरुको सञ्चालनमा सहयोग पु¥याएका थियौं र जोखिममा रहेका घरहरुका अन्न मालसामान निकालिदिएका थियौ.। एकल महिला, बुढाबुढीहरु बस्ने घर टहरामा आवश्यक सहयोग पु¥याएको थियौँ । कैयौँ जनताका घर र विद्यालयहरुको भग्नावशेष हटाएका थियौं । आफ्नै नेतृत्वमा ३२ वटा स्कुलहरुमा प्रत्यक्ष सहयोग पु¥याएर यो अभियानको समापन गरेका थियौें । जनताको अकेलोपनमा सारथी बन्न पुगियो । दुःखको बेला थोरै भए पनि साहरा प्रदान गरियो । सबै ठाउँको अवस्थाको जानकारी प्राप्त गरियो । भोलीको दिनमा के गर्ने भन्ने योजना बनाउन यो अभियान निकै महत्वपूर्ण सहयोगी बनेको छ भन्ने महसुस गर्न सकिन्छ । ठमेल पर्यटनको टोलीले स्कुल बनाएर फर्कने बेलामा जनतासँग भएको भावविह्बल अवस्था र कर्णालीको स्वयम्सेवक टोलीले विद्यार्थीलाई पढाएरै स्कुल सञ्चालन गरेको दृश्य विशेष सम्झनलायक रह्यो भन्न सकिन्छ ।

रामेछापको बिभिन्न सर्बेक्षणले बताएको रिपोर्ट अनुसार ७३ वटा बस्ती जोखिममा रहेका छन् । राहत बितरण गर्ने र त्यसका लागि आवश्यक सामग्री पु¥याउने भन्दा धेरै महत्वपूर्ण र अनिवार्य विषय चाँहि सबै जनताको भूकम्प निरोधक स्थायी घर निर्माण गर्ने कुरा र जोखिममा परेका बस्तीहरुलाई सार्ने र पुनव्र्यवस्थापन गर्ने कुरा धेरै महत्वपूर्ण र आजको प्रमुख विषय हो । अव हाम्रो पार्टी र सिंगो सरकारले सम्पूर्ण ध्यान यसैमा केन्द्रित गर्नु जरुरी छ ।

अन्त्यमा, सकिन्छ यतिवेला क्रान्तिकारी भूमिसुधारको नीतिलाई लागू गर्ने योजना बनाउँ । सकिन्न भने जोखिममा परेका गाउँ र बस्तीहरुलाई पुनव्र्यवस्थित गर्ने सिलसिलामा १०० घरको एउटा बस्ती बनाउने, त्यस बस्तीभित्र एउटा विद्यालय, एउटा स्वास्थ्य शिविर, एउटा योगशिविर, एउटा वृद्धाश्रम, एउटा खेलकुद मैदान, एउटा ट्रेनिङ हल भएको सबै सुविधा सम्पन्न नमुना बस्ती निर्माण गरि सिंगो देशलाई नयाँ आयाम दिन सक्नु पर्दछ । सिंगो देशलाई एक बर्षका लागि स्वयम्सेवक घोषणा गर्ने नीति ल्याएर छिटो भन्दा छिटो भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाको पुनव्र्यवस्थापन गर्न सक्नुु पर्दछ । अनि, मात्र हामी छिटो भन्दा छिटो यो प्रभावलाई बिर्सिएर अगाडि बढ्न सक्दछौँ ।