
बाजुरा, १२ असोज । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य गरिएको बताउनुभएको छ । लामो समय सरकार बनाउने र गिराउने खेलमा सकिँदा विकास र समृद्धिको एजेण्डा नै धरापमा परेपछि मुलकमा उत्पन्न संकट समाधान गर्न दुई ठूला पार्टी मिल्नु परेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल बाजुराले मार्तडीमा गरेको पत्रकार भेटघाटमा उहाँले जनताको चाहना र समयको मागअनुसार नै कांग्रेस-एमालेबीच सहकार्य गरिएको जिकिर गर्नुभयो । मुलक राजनीतिक र आर्थिक संकटमा परिरहेका बेला, दलहरु सत्ताकै खेलमा अल्झिनु देश र जनता दुबैका लागि दुर्भाग्य हुने निष्कर्षसहितको सहकार्य भएकाले आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
गरिब राष्ट्रका लागि अस्थिरता अभिषाप नै बन्ने गरेकाले वर्तमान कांग्रेस र एमाले सहकार्यले संकट समाधान हुने र जनतामा दलहरुबीच देखिएको निराशासमेत हट्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । देशमा ठूला राजनीतिक परिवर्तन गर्न र संकट समाधान गर्न कांग्रेस एमालेबीचको सहकार्य विगतकै निरन्तरता भएकोले सत्ता स्वार्थको गलत अर्थमा नबुझ्न ज्ञवालीले आग्रह गर्नुभएको हो ।

ज्ञवालीले राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । संविधान गतिशिल हुन्छ, संविधानलाई समय अनुकुल बनाइनु पर्छ, त्यसैले सबै दलहरुबीचको आपसी सहकार्य र सहमतिमा संविधान संशोधन गरिनेमा आशंका नगर्न पनि आग्रह गर्नुभयो । संविधान संशोधनले कसैलाई निषेध र कसैलाई मालामाल हुने होइन्, राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै सबैको हित र पक्षमा हुनेगरी संशोधन गरिनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।
कांग्रेस-एमाले सहकार्यले मुलुकमा आशाको सञ्चार भएको दाबी ज्ञवालीको छ । ‘व्यापारी उत्साहीत छन् । सेयर बजार लगातार उकालो छ । अस्थिरता अन्त्य हुनेमा जनता आशावादी छन् । ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने सफल भएको छ । सहकार्यका सुरुवादी यी नै विषयले पनि सहकार्यको सकारात्मक सन्देश प्रवाह भएको देख्न सकिन्छ ।’ नेता ज्ञवालीले भन्नुभयो ।
प्रचण्डप्रति संकेत गर्दै ज्ञवालीले मुलकलाई पछाडि धकल्ने र राजनीतिक अस्थिरतालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो । जादुमयी अंकको आड देखाएर प्रचण्डले नेपाली जनता र लोकतन्त्रमाथि नै खेलवाड गरेको ज्ञवालीको भनाई छ । प्रचण्डको अनियन्त्रित बोली लोकतन्त्र, विधिको शासन र वर्तमान संविधान विपरित रहेको दाबी ज्ञवालीको छ । बंगलादेश बनाउने, आँधी ल्याउने, अथलपुथल गर्ने अभिव्यक्ति प्रचण्ड सत्ता गुमाउँदाको आक्रोश बाहेक केही नभएकोले जनताले राम्रोसँग बुझिसकेको ज्ञवालीले बताउनुभयो ।
त्यसैगरी, नेता ज्ञवालीले सहकारी प्रकरणमा जोडिएका सबैको निष्पक्ष र कानुन सम्मत अनुसन्धान गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंक नगर्न आग्रह गर्दै ज्ञवाली स्वतन्त्र भनिएका पार्टीहरुले कानुनकै ध्वज्जी उडाएको उल्लेख गर्नुभयो ।
कांग्रेस, एमाले र माओवादीले नेताहरुमाथि अनुसन्धान हुँदा कारबाही हुँदा सहयोग गरेको उदारण दिँदै ज्ञवालीले गलत कुरामा पनि समर्थन गर्न र आन्दोलनको धम्की दिने कार्य लोकतन्त्र र विधिको शासनविरुद्ध भएकोले जनताको साथ नरहने दाबी गर्नुभयो । बाढी र पहिरोको संकटमा परेको नेपाली समुदायमाथि राहत, उद्दारमा सरकार जिम्मेवार रहेको भन्दै ज्ञवालीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

बाजुराले विकासमा केही फड्को मारे पनि अझै राज्यको ध्यान सिंगो सुदूरपश्चिममै पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले उचित बजेट व्यवस्थापनका लागि आफ्नो सदैव पहल रहेको र एमालेको हृदयमा बाजुरासहितका जिल्लाहरु बसेको उहाँले बताउनुभयो । भारत आश्रीत समुदायलाई पर्यटनको माध्यमबाट जीवनस्तर सुधारका गतिविधि गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण हालसम्मको सफल र उपलब्धी मुलक बनेकोसमेत बताउनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सुन्ने र चिन्ने ठाउँमा पुर्याउन भ्रमण सफल रहेको सुनाउनुभयो । आणविक र औद्योगिक मुलुकहरुका कारण संसारकै वातावरण बिग्रिदैँ गएकोले सुधार्ने जिम्मेवारी पनि तीनै मुलुकले लिनु पर्ने धारणा राख्नुभयो ।

प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्र रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओलीलगायतका नेताहरु सहभागि हुनुहुन्थ्यो । पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गर्नुभएको थियो ।
एमाले बाजुराले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन ज्ञवाली बाजुरा आउनुभएको हो । ज्ञवालीसहितका नेताहरुले एमाले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिनुहुनेछ ।








प्रतिक्रिया