काठमाडौं, १५ असार । अखिल नेपाल किसान महासंघले रोपाई कार्यक्रमको आयोजना गरी असार १५ को अवसरमा किसान दिवस मनाएको छ ।
किसान दिवस मनाउन महासंघले मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिका– १५ स्थित धर्मस्थलीमा रोपाई कार्यक्रमको आयोजना गरेको हो ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उर्जामन्त्री तथा अखिल नेपाल महिला संघकी उपाध्यक्ष राधा ज्ञवाली, काठमाडौं क्षेत्र नं. ७ का सभासद् रामवीर मानन्धर लगायतको उपस्थिति थियो ।
रोपाई कार्यक्रम प्रारम्भ हुनुअघि स्थानीयवासीको स्वागत कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष वामदेव गौतमले नेपालको कृषि क्रान्ति आधुनिकीकरण तर्फ जानु अनिवार्य आवश्यकता भइसकेको बताउँदै उक्त कार्य अखिल नेपाल किसान महासंघको पहलमा हुने स्पष्ट पार्नुभयो ।
उहाँले भूकम्पबाट विस्थापित किसान जनतालाई पुनर्स्थापनाको थालनी एमालेले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘निकट भविष्यमै हाम्रो पार्टीको नेतृत्वमा गठन हुने सरकारले किसान जनताको पुनर्स्थापना, पेशागत तथा व्यवासायिक हितका लागि ठोस पहल गरिनेछ ।’
अहिले पनि अखिल नेपाल किसान महासंघले भूकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका किसान जनतालाई वीऊ वितरण, घर–टहरा निर्माणको काम गरिरहेको तर, यो पहल पर्याप्त नभएको भन्दै उहाँले पर्याप्त पहलका लागि एमाले नेतृत्वमा सरकार गठन भएपछि हुने दावी गर्नुभयो ।
उहाँले भन्नुयो, ‘अब नेपाली किसान परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई त्यागेर व्यवसायीक कृषि प्रणाली अंगाल्नु जरुरी भइसकेको छ । त्यसका लागि हाम्रो महासंघले नेपाली किसान जनतालाई निरन्तर नेतृत्व प्रदान गर्ने छ । हाम्रो नेतृत्वबाट देशमा विकास भइरहेको दलाल पुँजिवादको अन्त्य र श्रमिक जनताको अधिनायकत्व स्थापित हुने, उत्पादनमा श्रमिक जनताको स्वामित्व स्थापित हुने कार्य हुन्छ ।’















प्रतिक्रिया