हिजो बेलुकी गाउँले दाईको नम्बरबाट फोन आयो । जो काठमाडौंमै जागिरे छन् । अफिसबाट भर्खर कोठामा आइपुगेको थिएँ । होइन, भात बसाल्न भ्याईसकेको थिए । तेज तेजले प्रेसर कुकरको सिट्टी उम्लदै थियो । ग्यासको भोलुम अलि कम बनाए र फोन रिसिभ गरे, ‘के हो दाई चापाचाप छ की क्याहो ?’ ‘कुरै नगर भाई असार १५ भन्दा पनि बढ्ता’, गाउँले दाईले गाउँले भाषामै जवाफ फर्काए ।
फोन राखे । ए साँच्ची भोलि त असार १५ पो । दाइले असार १५ लाई माध्ययम बनाएर आफूलाई जति सक्दो व्यस्त देखाउने पर्यत्न गर्दै थिए । संयोग साँच्चीकै असार १५ मा ती दाई पनि असार १५ को जस्तै व्यस्त रहेछन् ।
जब घर फर्कने बेला हुन्थ्यो । तरुनी तन्नेरीको छेपाछेप खुब रोचक लाग्थ्यो । दिनभर ओभनो कपडा, साझमा लुछुप्पै पर्थे । हिलो भेटाएनन् भने पानीको भए पनि छ्यापाछ्याप चल्थ्यो । म भने खुब चाख मानेर लुकी लुकी हेर्थे ।
ती दाइले मेरा पुराना दिनलाई समीप ल्याइदिए । म अनयास ती दिनहरुतर्फ फर्कीए । जुनबेला खेत रोप्ने कुराले रातभर निन्द्र लाग्दैनथ्यो । एका बिहानै उठेर कोदालो ठिक पार्न कस्सीन्थे । कत्ति न सबै खेत एक्लै रोप्ने हो की झै गरेर ।
७ वर्ष चानचुन भयो, यो खुट्टाले हिलो नटेकेको । यी हातले खेतको आली नछोएको । धानको बिउँ नगोडेको । धानको खेतमा पानी भर्न नपुगेको । यी आँखालाई पनि खेतको हिलाम्य फाँट देख्न हम्मे हम्मे छ । काठमाडौंको हिलोले त दिनकै कपडा फेर्नुपर्छ ।
एका बिहानै खेतमा पानी हाल्न पुग्नु पथ्र्यौ । ९ बजेसम्म दुई तीन वटा गरा पानीले भराईसक्नु पर्ने थियो । मलाई बाउँसो बोकेर कतिबेला खेतमा पुगु भन्ने हुन्थ्यो । आमाले भने गोरु फुकाएर, खेतबारीतिर पठाउँथे । मन नलागे पनि खुरुखुरु गोरु चढाउन हिड्थे ।
हली पहिल्यै आइपुग्थे । उनलाई घिउ र भात ड्याम्म खुवाइन्थ्यो । ९ः३० बजेसम्म हली, बाउँसे खेतमा हाजिर भैसक्थे । रोपाहरु गन्यूलाई अलि माथि धरोमा च्याप्दै खेतमा ओर्लिन्थे । अनि बिउँ ब्यारमा धानको बिउँ गोर्न कस्सिन्थे ।
उनीहरुको तमासा देखेर म फुच्चेलाई कम्ता रामाइलो लाग्ने थिएन । चाडबाडमा लाग्ने मेलाभन्दा बढ्ता रमाइलो । मेलामा त हेर्ने मात्र हो । त्यहाँ त खेल्न पनि पाइने । वाहा ! कत्ती गज्जव ।
मलाई बिउँ ओसार्ने जिम्मा दिन्थे । उपल्लो गराबाट सिट्ट तल्लो गारामा मिल्काउँथे । विउँ कच्याक कुच्युक पथ्र्यो । रोपाहरु हिलो हान्न कस्सीन्थे । म भने बुर्कुसी मार्थे, शाह लगाउदा गोरु बुर्कुसी मारे झैँ ।
विउँ उखाल्नु प¥यो भने । अरु भन्दा जान्ने भएर मुठै समाएर उखाल्ने । आफूलाई भने के के नै धेरै उखेले झै लाग्ने । तर, विउँ भने पुरै बिग्रन्थ्यो । उखेल्नु पर्ने त त्यान्द्रा त्यान्द्र मिलाएर पो रहेछ । मैले भने सामोसँगै उखेल्दो रहेछुु ।
कम्कीने थिएन । आली लगाउन पनि कस्सीन्थे । बाउसेहरुलो ग्वाँच्च माटो झिकेर आलिमा लपेट्थे । मैले भने खन्यो खन्यो कहीँ माटो भेट्ने होइन । होइन, यीनीहरु कहाँबाट झिक्छन् माटो । मन मनै सोंच्थे । तर, लिखुते हालते पानी नै झिकेर भए पनि खेतको आलीलाई हिलो पार्थे ।
हलीले हलो जोती सकेपछि । म हलिको पछिपछि दौडन थाल्थे । जोतेपछि मुइकाठो लगाइन्थ्यो । म त्यसैमा चढ्न दौडन्थे । कम्ती मजा आउने थिएन, मुइकाठो चढ्न । अझ हलीले गोरुको पुछर निमोठे पछि त, गोरु बेस्कन दौडन्थे । म पल्लो गाउँले सुन्ने गरी चिच्याउँथे ।
अहिलेका बच्चाहरुले मुइकाठोमा चढ्न त्यदी रहर गर्दैनन् होला । उनीहरु जन्मेदेखि मोटर चढ्छन् । हामीले गाडिको मुख कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन । चढ्नु त परको कुरा ।
एक दिन हौसिएर मुइकाठो चढ्न कुदेको थिए । मुइकाठो पनि चढे । एक छिपछि त गोरुले सुइकुुच्च ठाकेछ । मुइ माथि म तल परेछु । गोरुले खुब लते¥यो । बल्ल बल्ल उम्कीए । त्यसपछि रुँदै घरतिर उक्लीए ।
सायद ६, ७ कक्षातिर पढ्थे क्यारे । खाजा खाने बेला भएको थियो । एक हल गोरुले पराल खाइरहेका थिए । खेताला र हलीबाउँसेहरुले पहेलो भात । आलुको तरकारीसँग । कोही कोही बट्टुक रोटी पनि समातेका थिए । गहुँको पुरीलाई हाम्रोतिर बट्टुक रोटी भनिन्थ्यो । म भने यही मौका छोपेर जोत्न कस्सीए । गोरुको सिङ्बाट जोग्गीएर बल्लतल्ल हलुम्रोमा हलो घुसार्न भ्याए । हो भन्छु । गोरुले मरे टेरे त । एकछिन पछि एउटा गोरु एकातिर एका अर्कोतिर । रुखको बीचमा पसे । मैले लौरो हान्न छाडीन, फर्काउने प्रयत्न गर्दै । कर्याक्क…। दुईवटै गोरुले वुवाको सोइला भाँचे । मेरो बाबा दौडदै आउनु भो । र, गालामा मज्जाले चड्कन मार्नु भयो । गोरु फुत्केर भागिसकेको थियो । के को जोत्न पाउनु । दुइ दिनसम्म सुन्निएको गाला छाम्दै बस्दै गरे ।
७ वर्ष चानचुन भयो, यो खुट्टाले हिलो नटेकेको । यी हातले खेतको आली नछोएको । धानको बिउँ नगोडेको । धानको खेतमा पानी भर्न नपुगेको । यी आँखालाई पनि खेतको हिलाम्य फाँट देख्न हम्मे हम्मे छ । काठमाडौंको हिलोले त दिनकै कपडा फेर्नुपर्छ ।
खेतमा छेपाछेप पनि खुब चल्थ्यो । तल्लो गरामा खेतलाहरुले धान रोप्दै हुन्थे । माथ्लो गरामा बाउसेले मेलो बनाउँदै । तन्नेरीहरुले यसो मेसो पर्न साथ तरुनीलाई हिलो हान्थे र कुनामा दौडन्थे ।
जब घर फर्कने बेला हुन्थ्यो । तरुनी तन्नेरीको छेपाछेप खुब रोचक लाग्थ्यो । दिनभर ओभनो कपडा, साझमा लुछुप्पै पर्थे । हिलो भेटाएनन् भने पानीको भए पनि छ्यापाछ्याप चल्थ्यो । म भने खुब चाख मानेर लुकी लुकी हेर्थे ।
खेतमा पानी लगाउँने जिम्मा भने मेरै हुन्थ्यो । त्यस्तै ७, ८ कक्षा तिरको कुरा हो । दिन भरी पानी भरेर सबै पाटा दल–दल भएपछि मात्र घर फर्कने घण्टी लाग्थ्यो । माथिबाट कुलो मिलाउँदै खेतमा आउँदा कुलो सुकि सक्थ्यो । फेरि माथि उक्लीयो दश ठाउँमा कुलो दुलो पारीसकेका हुन्थे । कति चोटी तल माथि गर्थे, म आफैलाई थाहा हुने थिएन् । पानी आको छ, अब ठूलो पाटा एक छिनमै भरिन्छ भनी दंग परेर एकातिर बसे । कुर्यो कुर्यो । त्यो पाटा कहिल्यै भरिने होइन । भोकले पेट टनटन खाई सक्यो । म छक्क परे, त्यत्रो पानी कहाँ पुग्यो त । एक जनाले खेतको आलिबाट नदेख्ने गरी दुलो पारेर आफ्नो खेतमा खसालेको रहेछ । अनि कहाँबाट भरिनु खेत । खेतबाट घर फर्केपछि गहुँको रोटी कम्ता मिठो हुने थिएन ।
गत वर्ष झै यसपाली पनि मैले खेत रोप्न पाउने छैन । म जस्ता लाखौँ नेपाली खेत रोप्दैनन् अचेल । आलि खन्दैनन्, हलो जोत्दैनन्, छ्यापा छ्याप खेल्दैनन् । कोही बिदेशमा जोतिएका छन्, कोही खरुज गोड्, कोही भेडा चढाउन । विचरा हाम्रा गाउँका भेडाहरु खान नपाएर मर्न आँटेका छन् । भएका केही युवाहरु शहर पसेका छन् । फोने दाइलाई झै उनीहरुलाई यतै छोपाछोप छ । गाउँमा त खेतला पाउन पनि गाह्रो होला । हली, बाउँसे भेट्न पनि । गाउँमा केही बुढाबुढी छन् । उनीहरु नै कस्सीए होलान । आफ्नो खेतलाई चिसो पार्न ।
कति खेत त बाँझो पल्टी सके । असारको आत्तुरीमा पनि राजधानीमा म्यानपावर चाहार्दै हिँड्नेहरु उत्तीकै भेटिन्छन्, अनि किन बाझो नहोस् त गाउँको खेत ।
आज त दही चिउरा खाने दिन । सायद धेरैले दही चिउरा खाइसके होला । विषेश गरी शहर पसेकाहरुले । यस्ता परम्पराको महत्व शहरीयालाई त बढ्ता हुन्छ । तीजमा एक महिना अघिदेखि दर खान फुर्सन हुँदैन । गाउँका दाजुभाईले त दही चिउरा खाए की खाएन । कुन्नी । उनीहरुलाई दही चिउरा खानकोभन्दा पनि खेतमा जानको लागि हतार हुन्छ । रोपाइ गर्न । उनीहरुले मंसिरमा मज्जाले लोकल चामलको भात खान्छन् ।















प्रतिक्रिया