७ कार्तिक २०८३, शनिबार

मदिराविरुद्ध अभियानमा आमा समूह र प्रहरीसँगसँगै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help-picजाजरकोट, १५ असार । प्रहरीले जिल्लामा घरेलु मदिराको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ ।

मदिराको प्रयोगले सामाजिक अराजकता र घरेलु हिंसा बढाएकाले प्रहरीले जिल्लामा घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक लगाएको हो । तर पनि लुकिछिपी घरेलु उत्पादन र बिक्री वितरण हुने क्रम नरोकिएपछि प्रहरीले मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

पहिलो चरणमा मदिरा जफत गरेर नष्ट गर्ने र अटेर गरी पुनः मदिराको कारोबारमा संलग्न हुनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ । जिल्लामा अधिकांश नराम्रा घटना मदिराका कारण भएकाले मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

प्रहरीलाई महिला सञ्जालको साथ
अभियान सफल बनाउन प्रहरीले घरेलु मदिरा, जाँड र मदिरा उत्पादनमा प्रयोग गरिने भाँडाहरु नियन्त्रणमा लिने गरेको छ । प्रहरीको अभियानलाई स्थानीय महिला सञ्जालले समेत सहयोग गर्न थालेका छन् ।

महिलाले पनि मदिराको कारोेबारमा रोक लगाउन थालेका छन् । गाउँगाउँमा आमा समूह गठन गरेर प्रहरीले अभियान सञ्चालन गरेको छ । प्रहरी र आमा समूहसँगसँगै भएर घरेलु मदिरा नियन्त्रण अभियान सफल हँुदै गएको आमा समूह खलङ्गा–२ की अम्बा शाहले बताउनुभयो । घरेलु मदिरा मात्र नभई जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्नुपर्ने महिलाको माग छ । रासस