७ कार्तिक २०८३, शनिबार

विद्यार्थीले विश्वविद्यालयका डिनलाई शौचालयमा थुने, १५ मिनेटपछि प्रहरीले बाहिर निकाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-universityपोखरा, १४ असार । अनेरास्ववियुले पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. गोविन्द प्रसाद लामिछानेलाई विश्वविद्यालय केन्द्रीय कार्यालयको शौचालयमा थुनेका छन् ।

सोमबार दिउँसो अनेरास्ववियु समर्थित कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा पुगेर डिनलाई १५ मिनेटसम्म शौचालयमा थुनेका हुन् । डिनलाई थुनेपछि विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै केही बेर तोडफोड पनि गरेका थिए ।

तोडफोडबाट केही सिसा, ढोका, फिल्टर, टेबल लगायतमा क्षति भएको छ । तोडफोड लगत्तै विश्वविद्यालयमा प्रहरी पुगेपछि आन्दोलनकारीहरु तितरबितर भएका थिए । प्रहरी पुगेपछि डिन लामिछानेलाई शौचालयबाट बाहिर निकालिएको थियो ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसमा अनियमित तबरले विद्यार्थी ट्रान्सफर गरेकाले यो कदम उठाउनु परेको अनेरास्ववियु पोखरा विश्वविद्यालय, कास्कीका संयोजक नेशन शर्माले आरोप लगाए । विश्वविद्यालयका कानुनी सल्लाहकार फडिन्द्र कोइरालाको छोरीलाई नियम विपरित विषय ट्रान्सफर गराइएको शर्माले बताए ।

उक्त कार्यको विरोधमा विगत दुई महिनादेखि अनेरास्ववियुले विश्वविद्यालयमा आन्दोलन गर्दै आइरहेको थियो । अघिल्लो हप्ता आन्दोलनकारीहरुले डिन कार्यालयलाई डिन निषेधित क्षेत्र घोषणा गर्दै डिनको कुर्सी विश्वविद्यालय केन्द्रीय कार्यालयको रेलिङ्गमा झुण्ड्याएका थिए ।

सोमबार बिहान विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर झुण्ड्याइएको उक्त कुर्सी झिकेपछि त्यसको बदलामा आन्दोलनकारीहरुले यो कदम लिएको अनुमान गरिएको छ ।

सोमबार दिनभर डिन कार्यालय वरपर प्रहरीहरु अलर्टमा बसे पनि विश्वविद्यालय केन्द्रीय कार्यालयमा यो घटना भएको हो । घटना पछि अहिले विश्वविद्यालयका पदाधिकारीहरुको बैठक बसिरहेकाले डिन डा. लामिछानेको प्रतिक्रिया लिन सकिएको छैन ।