काठमाडौं, असार १३ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आगामी नेतृत्वका प्रत्यासी अध्यक्षहरुले श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको राजिनामा मागेका छन् । व्यवसायीहरुलाई दिनदिनै घरासाही बनाएर ‘जिरो कष्ट’ र अन्य नियमहरु लादेर व्यवसाय नै खत्तम पार्ने खेल खेलेको भन्दै राज्यमन्त्री गुरुङको राजिनामा मागेका हुन् ।
वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको विशेष अन्तक्र्रिया कार्यक्रममा अध्यक्षका प्रत्यासी तीनै जना उम्मेदवारले राज्यमन्त्री गुरुङले वैदेशिक रोजगारको क्षेत्र नै सामाप्त पारेको आरोप लगाए । ‘मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ’ स्वतन्त्र तथा विशुद्ध व्यवसायी समूहका अध्यक्ष किरणकिशोर घिमिरेले भने–‘व्यवसायिक एकता नहुँदा राज्यबाट ठूलो घात भइरहेको छ ।’ यता अध्यक्षका अर्का प्रत्यासी विमल ढकालले प्रधानमन्त्रीलाई राज्यमन्त्री गुरुङको राजिनामा माग्न अनुरोध गरिएको बताए ।
उनले भने–‘हामीले राज्यमन्त्री गुरुङले एकपछि अर्को नियम लागुको सट्टा फिर्ता नलिए मन्त्रीबाटै हटाउन अनुरोध गरेका छौ ।’ अर्का अध्यक्षका प्रत्यासी सरोज पोखरेलले व्यक्तिगत स्वार्थका लागि राज्यमन्त्री गुरुङले वैदेशिक रोजगार व्यवसाय सक्न खोजेको आरोप लगाए । उनले भने–‘ राज्यमन्त्री र महानिर्देशकको ज्याजतीको विरुद्ध आन्दोलन घोषणा गरिसकेका छौ ।’
आगामी असार १७ गते हुने संघको निर्वाचनमा बिशुद्ध तथा स्वतन्त्र समूह बनाएर कञ्चन ह्युमन रिसोर्सेस प्रालिका संचालक किरणकिशोर घिमिरेको नेतृत्व, नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको तर्फबाट बिमल ढकालको नेतृत्व र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट सरोज पोखरेलको समूह अहिले संघको नयाँ कार्यसमिति आफ्नो पोल्टामा पार्न चुनावी मैदानमा छन् ।
वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्न, वैदेशिक रोजगार ऐन परिवर्तन गर्न, व्यवसायीहरुको हकहितका लागि लाग्न तीनै जना प्रतिष्पर्धीले प्रतिबद्धता व्यक्त गरे ।
‘व्यवसायीको हक, हित र सम्मान, हाम्रो निरन्तर अभियान’ भन्ने मूल नाराका साथ घिमिरे समूह संघमा राजनीतिको फोहोरी खेल खेल्न हुँदैन भन्दै स्वतन्त्र व्यवसायीहरुको समूह बनाएको दावी गर्दै आएको छ । यता प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्ना संस्थापक अध्यक्ष पोखरेलको नेतृत्वमा ‘व्यवसायिक हक, एकता र अस्थित्व, स्वाभिमानी, सक्षम र इमान्दार नेतृत्व’ भन्ने मुल नाराका साथ चुनावी मैदानमा होमिएको छ ।
लोकतान्त्रिक वैदेशिक रोजगार फोरमले आफ्नो आधिकारिक उम्मेदवार ढकालको नेतृत्वलाई अगाडि सार्दै ‘वैदेशिक रोजगार व्यवसायीको सुनौलो काल, अबको सक्षम समूहको नेतृत्व बिमल ढकाल’ भन्ने मूल नारा राखेर व्यवसायी माझ आएको छ ।
संघका अध्यक्ष हंशराज वाग्लेले अध्यक्षका प्रत्यासीहरु जस्तो सुकै प्रतिवद्धता जाहेर गरे पनि काम गर्न नसक्ने ठोकुवा गरे । व्यवसायी एकताविना सरकार समक्ष काम गर्न नसकिने हुँदा एकतामा जोड दिन अनुरोध गरे ।
















प्रतिक्रिया