पोखरा, ११ असार । भारत र चीनबीच भएको विवादास्पद व्यापारिक सम्झौताको विरुद्धमा अनेरास्ववियु गण्डकीले शुक्रबार पोखरामा प्रदर्शन गरेको छ ।
अनेरास्ववियु गण्डकी सह ईञ्चार्ज नरेश रोकायाको नेतृत्वमा भएको प्रदर्शनले पोखराको विभिन्न भागहरु परिक्रमा गर्दै शहिदचोकमा कोणसभा समेत सम्पन्न गरेको छ ।
सोही सम्झौता खारेजीको माग गर्दै पृथ्वीनारायण क्याम्पसबाट शुरु भई पोखराका विभिन्न कलेज र चोकहरुबाट १ सय पचास मिटर कपडामा संकलित ५१ हजार हस्ताक्षर पनि संगठनले शुक्रबार नै क्षत्रिय प्रशासक दिनेश कुमार थपलिया मार्फत नेपाल सरकारलाई बुझाएको छ ।
अघिल्लो हप्ता शुरु भएको हस्ताक्षर अभियान पृथ्वीनारायण क्याम्पस, ईञ्जीनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, पोखरा ईञ्जीनियरिङ्ग क्याम्पस, वनविज्ञान अध्ययन संस्थान लगायतका कलेजहरु साथै पोखराका महेन्द्रपुल, चिप्लेढुङ्गा, बगर, शहिदचोकमा सञ्चालन गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकीका सह ईञ्चार्ज रोकायाले राष्ट्रको भूमि जोगाउनका लागि जस्तो सुकै बलिदान गर्न पनि अनेरास्ववियु तयार रहेको बताए ।
त्यसै गरी कमिटीका कोषाध्यक्ष आशिर्वाद सुवेदीले सरकारको राजिनामा माग गरे । प्रदर्शनमा पोखराका विभिन्न कलेजहरुमा अध्ययनरत करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको अनेरास्ववियु कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले बताए ।
















प्रतिक्रिया