
काठमाडौं, १८ साउन । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा फिल्मका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दारी र जुँगाको गेटअपमा देखिनुभएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।
फिल्ममा भिलेन चरित्रमा देखिनुभएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड हुनुहुन्छ ।
प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिनुभएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का निर्देशक हुनुहुन्छ । उहाँले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताउनुभयो । ‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उहाँले भन्नुभयो, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’
नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनुभएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताउनुभयो । उहाँले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाउनुभयो ।
‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ’, उहाँले भन्नुभयो, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतिपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’
फिल्मकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताउनुभयो । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ ।’ उहाँले भन्नुभयो ।
कलाकार प्रमोद अग्रहरिले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गर्नुभयो । अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि फिल्मको पात्र चुनौतीपूर्ण रहेको बताउनुभयो ।
फिल्मका निर्देशक सुदर्शन थापा हुनुहुन्छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुनुहुन्छ । फिल्ममा सुशन पाठक कार्यकारी निर्मातामा हुनुहुन्छ ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।
फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ ।








प्रतिक्रिया