२८ आश्विन २०८३, बुधबार

ग्वाङडोङमा भेटिए हजार भ्रष्टाचारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaबेइजिङ, २५ जेठ । चीनको सरकारी अनुसन्धानले दक्षिणी प्रान्त ग्वाङडोङमा हजारभन्दा बढी सरकारी अधिकारी भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ। भ्रष्टाचारविरोधी अनुसन्धानमा ग्वाङडोङमा हजार जनाभन्दा बढी सरकारी अधिकारीले आफ्ना परिवार वा छोराछोरी विदेशमा राखेको फेला परेको थियो।

परिवार वा छोराछोरी विदेशमा रहनु भ्रष्टाचारसँगै जोडिने भएकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता यस्तो स्थिति अन्त्य गर्न चाहन्छन्। परिवार विदेशमा राख्दा भ्रष्टाचार गरी कमाएको अवैध रकम विदेशमै जम्मा गर्न सजिलो हुने कम्युनिस्ट पार्टीको ठहर छ।

अनुसन्धानपछि सरकारले ग्वाङडोङका अधिकारीलाई आफ्ना परिवार वा छोराछोरी फिर्ता बोलाउन, नभए पद छाड्न वा घटुवा हुन तयार रहन आदेश दिएको छ। सरकारी सञ्चार एजेन्सी सिन्ह्वाले दुई महिना लगाएर अनुसन्धान गरिएको जनाएको छ। सिन्ह्वाले विदेशमा परिवार वा छोराछोरी राख्ने सरकारी अधिकारीको समूह ‘नग्न अधिकारी’ नेकेड अफिसियल का नामले चिनिने जनाएको छ।

सिन्ह्वाका अनुसार त्यस्ता सरकारी अधिकारीले विदेशमा बस्ने आफ्ना परिवारलाई भ्रष्टाचारबाट आउने रकम पठाउने गर्छन्। र, त्यस्ता अधिकारीसँग स्वदेशमा नाममात्रको सम्पत्ति रहने भएकाले नांगा नेकेड हुने पार्टीको ठहर छ।

सिन्ह्वाका अनुसार ग्वाङडोङमा करिब २ सय सरकारी अधिकारीलाई परिवार फिर्ता बोलाउन आदेश दिइसकिएको छ। अन्य ८ सय ६६ जना सरकारी अधिकारीले भने घटुवा हुन सहमति जनाएको समाचारमा उल्लेख छ। तीमध्ये नौ जना मेयर तहका भएको पनि सिन्ह्वाले उल्लेख गरेको छ। नागरिक दैनिकबाट