८ असार २०८३, सोमबार

कोरियन भाषामा तयार भयो ‘गोर्खा वारियर’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ ।

निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा रिलिज पछि अन्य विभिन्न भाषामा विदेशमा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो चलचित्रलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको हो ।

कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले भन्नुभयो, ‘यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको थियो । गोर्खा वारियरलाई पूर्ण रुपमा कोरियन भाषामै स्वराँकनसहित तयार गरेर यसको रिलिजको लागि सो कम्पनीले हिजो कोरियन भाषामै फस्ट लुक्स पोष्टर पनि बनाएर सार्वजनिक गरेको छ ।’ अब यसलाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराउनुभयो ।

कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरुमा पनि रिलिज गरिनेछ । सम्भवत यसरी नेपाली चलचित्र पहिलो पटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको गोर्खा वारियर भएको पनि निर्देशक चाम्सले जानकारी गराउनुभयो ।

यो चलचित्र यसअघि नेपाली र अंग्रेजीमा निर्माण भइसकेको छ । यो चलचित्रको पहिलो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनि सकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युबमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराउनुभएको छ । यो चलचित्रको हिन्दी संस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराउनुभयो ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेख्नुभएको हो भने गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानले रंग संयोजन गर्नुभएको छ । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुनुहुन्छ । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहनुभएको छ । यो चलचित्र लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।