काठमाडौं, २५ जेठ । सामान्यतया जेठ अन्तिमसाता १० जुन देखि सुरु हुनुपर्ने मनसुन असार दोस्रो सातामात्रै सुरु हुने मौसमविद्हरुले अनुमान गरेका छन् । अहिले भईरहेको वर्षाचाँही प्रि-मनसुनी गतिविधिअन्तर्गत भएको मौसमविद्हरुको भनाई छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘मौसमी नक्सा, भू-उपग्रहबाट प्राप्त बादलको तस्बिर तथा मनसुनको हालको विस्तारको अवस्था हेर्दा मनसुनको आगमनमा सरदरभन्दा डेढ सातासम्म ढिलाइ हुनेु उल्लेख गरेको छ ।
तत्कालै मनसुन सुरु हुने आधार नदेखिएकाले डेढ साता ढिलो हुने औपचारिक सूचना जारी गरिसकेको छ । नेपालमा सामान्यतया १० जुनदेखि २३ सेप्टेम्बरसम्मगरी १ सय ५ दिन मनसुनन सक्रिय हुन्छ । मनसुन अवधिमा मुलकभर औसत १४३२ मिलिमिटर वषर हुन्छ ।
नेपालमा अहिलेसम्म १९४७ सालमा सबैभन्दा छिटो सरदरभन्दा ११ दिन अगावै ३१ मेमै मनसुन सुरु भएको थियो भने, सबैभन्दा ढिलो २००९ मा १८ दिन ढिलो गरी २८ जुनमा सुरु भएको ईतिहास छ ।
महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मनसुन भारतको तामिलनाडु, केरला र बंगलादेशको दक्षिणी भागसम्म आईपुगेको छ । ‘१ जुनमै तामिलनाडु आईपुग्नुपर्नेमा त्यहीं आउन ६ दिन ढिलो भयो’ मौसमविद् रिमालले शनिवार भने, ‘तामिलनाडुमै सक्रिय भईनसकेकाले हामीकहाँ आईपुग्न कम्तिमा डेढ साता ढिलो हुन सक्छ ।’
महाशाखाका अनुसार मनसुन अहिले बंगालको खाडिको पूर्वी भागमै रुमल्लिरहेको हो । तामिलनाडु, केरला, बर्मा, पश्चिम बंगालबाट मुलुकको पूर्वी भाग हुँदै मनसुन प्रवेश गर्छ । दोस्रो साता प्रवेश गरे पनि अघिल्लोमाजस्तै सक्रिय भए धानबाली लगाउन राहत मिल्ने उनीहरु बताउँछन् ।
गत वर्ष जुन १४ मा प्रवेश गरेको मनसुन २४ घण्टामै देशभर सक्रिय भएको थियो । गत वर्ष सरदरभन्दा ४ दिन ढिलो गरी सुरु भएको मनसुन १९ अक्टोबरमा सकिएको थियो ।
२०१२ मा १६ जुनमा सुरु भएर २८ अक्टुबर, २०११ मा १५ जुनमा सुरु भएर ७ अक्टोबर, २०१० मा १७ जुनमा सुरु भएर १ अक्टोबर र २००९ मा १८ दिन ढिलो गरी २८ जुनमा मनसुन सुरु भएको थियो । पछिल्ला वर्षहरुमा दक्षिण एशियाली मुलुकमा मनसुनको समयमा ढिलाई हुँदै आएको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया