
काठमाडौं, ३१ असार । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ ।
सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसक्ने हो भने नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिन्छ । नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ । गौतमवुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर र खोंचसमेत नेपालमै रहेको छ । नेपालमा पर्यटनका प्रचुर सम्भावना भएपनि पर्यटनको विकास हुन नसकेको यथार्थ हामीसामु छ ।’ बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु आजको मुख्य समस्या भएको दाहालको भनाइ छ ।
दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा मुलुक प्रतिदिन परनिर्भर हुँदै गइरहेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा हामी दिन प्रतिदिन परनिर्भर हुँदै गइरहेका छौँ । देशलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकासका गर्नु उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब सरकारको ध्यान युवाहरुलाई विदेश जान रोकेर बढिभन्दा बढि पर्यटक भित्र्याउन हुनुपर्दछ ।’








प्रतिक्रिया