
काठमाडौं, २७ असार । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिनु भएको थियो । त्यतिबेला मेसी २० वर्षका हुनुहुन्थ्यो । त्यो समय मेसी ’अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा हुनुहुन्थ्यो ।
तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन । उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाउनु भएको छ । उहाँको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।
१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बन्नु भएको छ । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ’दुई महान् व्यक्तिको सुरुवात ।’ यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिच्नु भएको हो । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उहाँले जानकारी दिनुभयो । यमलको परिवार त्यहीँ बस्थे ।
मोनफोर्टका अनुसार, ’यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेको थिए ।’ फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउनुभयो किनभने मेसी लजालु व्यक्ति हुनुहुन्छ ।
उहाँ लकर कोठाबाट बाहिर निस्कदै हुनुहुन्थ्यो र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’
यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिनु भएको छ । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेल्नुभयो जहाँ उहाँ क्लबको सबैभन्दा कान्छो गोलकर्ता बन्नुभयो । उहाँ स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बन्नुभएको छ । मोनफोर्टले भन्नुभयो, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उहाँले बच्चा यमल भएको थाहा पाउनुभयो । उहाँले भन्नुभयो, ’यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’












प्रतिक्रिया