२९ आश्विन २०८३, बिहिबार

खानीडाँडा विमानस्थल कालोपत्रेको काम सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khanidanda-bimansthal

काठमाडौं, ९ असार । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको रु सात करोड २४ हजार ३८० लागतमा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको हो । लामा बुइल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनीद्वारा कालोपत्रे गरिएको उक्त विमानस्थलको धावनमार्गको लम्बाइ ५९० मिटर र चौडाइ २० मिटरको रहेको छ ।

उक्त विमानस्थल कालोपत्रेका लागि २०७२ जेठ १५ गतेभित्र सम्पन्न गर्ने गरी २०६९ असोज १५ गते दुईपक्षीय सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताउनुभयो ।

विमानस्थल कालोपत्रे भइसकेकाले उडान÷अवतरणमा कुनै असर नगर्ने इन्जिनियरको सुझावअनुसार नियमित उडान भर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष माग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलको धावन मार्ग कालोपत्रेको काम सकिएको छ, विशेष गरी अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता रहेकाले नियमित उडान सुचारु गराउन प्राधिकरणसमक्ष माग गरेका हौँ ।”

विमानस्थलको कालोपत्रे सम्पन्न भएको आयोजना प्रमुखबाट जानकारी आएकाले असार ११ गते परीक्षण उडान गरी नियमित उठान भर्ने व्यवस्था मिलाइ दिन प्राधिकरणसमक्ष अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोटाङ भौगोलिक विकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै नियमित उडान भर्न माग गरेका हौँ, सम्भवतः सोही दिनबाट नियमित उडान हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाका तीन विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे भएपछि जिल्लावासी हर्षित भएका छन् । वर्षा लागेसँगै तराईसँगको सिधा यातायात सेवा बिच्छेद भएको अवस्थामा सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा हवाई सेवा नियमित गराउने पर्ने जिल्लावासीको माग रहेको छ ।

खोटाङवासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, अग्नी र तारा एयरलाइन्सले उडान भर्दै आएको थियो ।