७ कार्तिक २०८३, शनिबार

सिकलसेलका विरामी निःशुल्क उपचारबाट बञ्चित, उपकरण खरिद रकम फ्रिज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sikel-anymeia– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, ८ असार । सिकलसेल एनिमियाका विरामीको रगत जाँचका लागि एचपिएलसी उपकरण खरिद गर्न सरकारले भेरी अञ्चल अस्ताललाई पठाएको रकम फ्रिज हुने पक्का भएको छ । उपकरण खरिदका लागि सरकारले आर्थिक वर्षको अन्तिममा आएर रकम पठाएपछि फ्रिज हुने पक्का भएको हो ।

स्वास्थ्य सेवा विभागले गत बैशाख ८ गते उपकरण खरिदका लागि रकम पठाउने निर्णय गरेको थियो । तर, भूकम्पका कारण विभागले रकम पठाउन ढिला गरेका कारण उपकरण खरिदका लागि आएको रकम फ्रिज हुने निश्चित भएको भेरी अञ्चल अस्पतालका लेखा अधिकृत मणिराम बर्माले बताए ।

उनले १० लाखभन्दा माथिको उपकरण खरिद गर्दा टेण्डर आह्वान गर्नुपर्ने भएकोले एसटिएलसी उपकरण खरिद गर्ने सम्भावना न्यून भएको बताए । उनले भने, ‘बल्लतल्ल आएको रकम पनि फ्रिज हुने भयो ।’

स्वास्थ्य सेवा विभागले भेरी अञ्चल अस्पताललाई पठाएको रकमबाट त्यति राम्रो उपकरण खरिद गर्न नसकिने पनि लेखापाल बर्माले बताए । ‘ब्यापारीसँग सोध्दा सवैभन्दा राम्रो उपकरणको मूल्य ५५ लाख पर्ने बताए,’ उनले भने, ‘यो रकमबाट दोस्रो तहको उपकरण खरिद गर्न सकिन्छ ।’

सिकलसेल एनिमियाका विरामीलाई एकलाख रुपैयाँसम्म निशुल्क उपचार दिने निर्णय गरेको थियो । तर, यस क्षेत्रका सिकलसेलका विरामीले आफ्नै खर्चमा उपचार गराइरहेका छन् ।

स्वास्थ्य सेवा विभागले विरामीको उपचारमा लागेको खर्च बिवरण पठाउन परिपत्र गरे पनि भेरी अस्पतालका निवर्तमान मेडिकल सुपरिटेण्डेण्ट डा. पिताम्वर सुवेदीले उधारो काम गर्न नसकिने जवाफ पठाएको अस्पताल श्रोतले जनाएको छ ।

सिफारिस सहित ५५ जनाले भेरी अञ्चल अस्पतालमा रकम माग गर्दै निवेदन दिएका छन् । ‘सिफारिससहित निवेदन त आयो तर, विरामीले उपचार गराए बापतको रकम आएन,’ लेखा अधिकृत बर्माले भने, ‘यस आर्थिक वर्षमा उपचार बापतको रकम दिनसक्ने सम्भावना एकदमै कम छ ।’

सिकलसेलका विरामीको औषधिभन्दा डायग्नोसिसमा बढी खर्च लाग्ने गरेको छ । सरकारले सिकलसेलका विरामीको निशुल्क उपचार र डायग्नोसिस गर्ने नीति कार्यान्वयन नहुँदा थारु समुदायका सयौँ विरामी समस्यामा परेको भेरी अञ्चल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए ।

आफूले विरामीका उपचारमा सक्दो सहयोग गर्दै आएको बताउँदै उनले रकम अभावका कारण धेरै विरामीले डायग्नोसिस गराउन नसकेको स्पष्ट पारे । ‘सम्बन्धित अस्पतालका प्रमुखले पहल गरेका भए समयमा नै रकम निकासा हुने सम्भावना थियो,’ डा. पाण्डेले भने ।

सिकलसेल रोग भएको प्रमाणित भएपछि निशुल्क उपचार सेवा लिन गाविस, नगरपालिका वा उप–महानगरपालिकाबाट विपन्न नागरिक भएको सिफारिस जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस गराई अस्पतालबाट सेवा लिनुपर्ने प्रावधान छ ।

यसैवीच, सिकलसेल एनिमिया रोगको अवस्था, विरामीले पाएको सुविधा, डायग्नोसिस लगायतका विषयमा आज मंगलबार र भोली बुधबार काडमाडौँमा गोष्ठी हुने भएको छ । गोष्ठीमा सहभागी हुन भेरी अस्पतालका मेसु डा. यादव आज मंगलबार काठमाडौँ जाँदैछन् ।