बर्दिया, ८ असार । बर्दियाका सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सुरु हुन अब एक सातामात्र बाँकी छ । तर, यहाँका केही विद्यालयका विद्यार्थीले अझै पुरा किताव पाउँन सकेका छैनन् ।
शैक्षिक सत्र सुरु भएको २ महिना बित्दा पनी कक्षा ८ का विद्यार्थीले अझै विज्ञान, नेपाली विषयको पाठ्यपुस्तक देख्नै पाएका छैनन् । यसैगरी ६ र ७ कक्षाको पाठ्यपुस्तक पनि अधुरो छ । पुस्तक नहँदा विद्यार्थी मर्कामा परेका छन् । पुस्तक अभावमा कक्षा कोठामा शिक्षकले भट्याएको सुन्नुवाहेक उनीहरुसँग अरु कुनै उपाए नै छैन ।
अधिकाशं विद्यालयमा जेठ दोस्रोसातादेखि त्रैमासिक परीक्षा सुरु हुँदैछ । तर विद्यार्थीको हातमा पाठ्यपुस्तक नै छन् । परीक्षा मुखैमा आउँदा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थी चिन्तीत छन् । उनीहरु शिक्षकले कक्षा कोठामा भनेको सुनेकै आधारमा विद्यार्थीहरु परीक्षाको तयारी गर्न बाध्य छन् । पुस्तक पढन निकै समस्या भएको विद्यार्थीहरुको भनाई छ । ‘किताव आयो की भन्दै विद्यार्थीहरु दिनँहु पुस्तक पसल धाउँछौँ । तर, पसलेले किताव छैन भनेपछि निरास भएर फर्कनु पर्छ,’ बग्नाहाका विद्यार्थी रामलौटन थारुले गुनासो सुनाए ।
यस शैक्षिक सत्रमा कक्षा ८ को पाठ्यक्रम पनि फेरीएको छ । जसले गर्दा विद्यार्थीले् पुरानो किताव पढ्ने अवस्था पनि छैन । विद्यार्थीसँग किताव नहँुदा पढाउन पनि निकै समस्या भएको शिक्षकहरुको भनाई छ । ‘ पढाउन गयो विद्यार्थीसँग किताव छैन् । टोलाएर बस्छन् । निकै समस्या छ,’ त्रिभुवन उच्च माविका शिक्षक जीवराज पाण्ड्येले सुनाए । कक्षा ८ आधारभुत तहको अन्तिम कक्षा हो । यो तहमा विद्यार्थीले जिल्लास्तरका विद्यार्थीसँग प्रतिस्प्रर्धा गर्नु पर्ने हुन्छ । तर, समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
तल्लो कक्षाबाट पास भएर भर्खर माथिल्लो कक्षामा आइयो । तर, अहिलेसम्म किताव नै देखेको छैन । पढन निकै गाह्रो भएको छ ,’ स्थानिय एक विद्यालयमा कक्षा ८ मा पढ्ने रिता थारुले गुनासो पोखिन् ।
विद्यालय स्तरको पाठ्यपुस्तक वितरण गर्ने जिम्मेवारी जनक शिक्षा सामाग्रीको हो । जनक शिक्षाबाट नै पुस्तक नआएकाले विद्यार्थीलाई दिन नसकीएको पुस्तक व्यवसायीहरुको भनाई छ । पुरै पुस्तक नआउँदा आफुहरु पनि हैरान भएको उनीहरुको भनाई छ । पुस्तक लिन जाँदा जनक शिक्षा सामाग्रीले दिने जवाफ सुनाउँदै भुरिगाउँका पुस्तक व्यापारी पदम लम्सालले भने, ‘हामी पनि दिनँहु जसो पुस्तकका लागि जनक शिक्षा सामग्रीमा धाउँछौ । तर, सधै एउटै जवाफ आउँछ, नआत्तिनुस् अव एक सातामा आइहाल्छ ।’
यता, जनक शिक्षा सामाग्रीले पनि समयमै पुस्तक पुर्याउन नसकेको स्वीकारेको छ । बैशाख १२ मा गएको महाभूकम्पका कारण समयमै पाठ्यपुस्तक पुर्याउन नसकको भन्दै जनक शिक्षा सामाग्रीले आफनो बचाउँ गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रका वजार व्यवस्थापक गिरीराज राजौरेले भने, ‘ भूकम्पको असरले केही ढिला हुन गएको हो । छपाईको काम भइरहेको छ । केही दिनमै बाँके, बर्दियामा अपुग किताव पठाउँछौँ । ’
दुइ महिना बित्दापनि जनक शिक्षा सामाग्रीले पुस्तक नदिएर विद्यार्थीको अविश्यमा खेलवाड गरेका भन्दै अभिभावक पनि आक्रोशित भएका छन् ।
















प्रतिक्रिया