काठमाडौँ, ८ असार । प्रधानमन्त्री सुशील कोइरालाले आधुनिक र विकसित नेपाल बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सो विश्वास आज बिहान भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको टोलीसँग व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “हिजोका कमीकमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु । म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौँ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनःनिर्माणको मार्गमा पनि हिँडिरहेको बताउनुभयो । उहाँले हालैको भूकम्पमा भएको खोजी, उद्धार, राहत र पुनःस्थापनाका प्रयासको विदेशीले सराहना गरेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले संविधानको निर्माणपछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकाले विकासले गति लिने बताउनुभयो । प्रकृतिले दिएका स्रोतको उपयोग गरेर नै नेपाल समृद्ध बन्ने बताउँदै उहाँले भन्नुभयो, “म नेपालको भविष्यप्रति अत्यन्तै आशावादी छु । मुलुक अब अगाडि बढ्यो ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा लोकतन्त्रको स्थायित्व र विकाससँग सञ्चार जगत्को पनि भविष्य पनि आबद्ध भएको बताउनुभयो । उहाँले लोकतन्त्रको स्थापना र पुनःस्थापनाको आन्दोलनमा सधैँ साथसाथै रहेको सञ्चार क्षेत्रले संविधान निर्माण गरी सङ्घीयता, गणतन्त्र र समावेशीतासहितको लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने संविधान निर्माणमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कान्तिपुरले दियो रु चार करोड ४३ लाख
भूकम्पपीडित नेपालीको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपका तर्फबाट कान्तिपुर फाउन्डेसनले सञ्चालन गरेको खातामा जम्मा भएको रकम आज ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गर्नुभयो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुप र कान्तिपुर फाउन्डेसनका अध्यक्ष सिरोहियाले प्रधानमन्त्री कोइरालालाई चार करोड ४३ लाख ५१ हजार ३१० रुपैयाँ ६ पैसाको चेक हस्तान्तरण गर्नुभएको हो ।
भूकम्पपीडितको सहयोगार्थ कान्तिपुर मिडिया ग्रुपले सुरुमा सेञ्चुरी बैंकसँग र पछि अन्य बैंकसँगको सहकार्यमा बैंक खाता खोली रकम सङ्कलन गरेको थियो । “खातामा हामीले रु १० लाख राख्याँै र अरुलाई सहयोग गर्न अपिल ग¥यौँ,” कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाले भन्नुभयो – “यसमा रु १०० देखि ५० लाख दिने दातासमेतको रकम सङ्कलन भएको छ ।”
सो अवसरमा अध्यक्ष सिरोहियाले सो रकम आवश्यकता परेका भूकम्पपीडितको राहत र पुनःस्थापनामा सदुपयोग होस् भन्ने विचार व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको सदुपयोग होस् भन्नेमा सरकार अत्यन्त सजग रहेको उल्लेख गर्दै भन्नुभयो, “म राहत रकम र सामग्रीको दुरुपयोग हुन दिन्न । मैले यो कुरा क्याबिनेटमा पनि उठाएको छु । गल्ती गर्ने परेका छन् । कति कुरा अख्तियारमा पनि पुगेको छ ।”
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपद्को घडीमा सहयोग जुटाउनु भएकामा कान्तिपुर मिडिया ग्रुप कान्तिपुर फाउन्डेसन, सेञ्चुरी बैंक र अन्य दातालाई धन्यवाद दिनुभएको थियो ।
सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, द काठमाण्डु पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्याय, सेञ्चुरी बैंक, सनराइज बैंकका पदाधिकारीका साथै कान्तिपुर मिडिया ग्रुपका विभिन्न पदाधिकारीको पनि उपस्थिति थियो ।
खेलकुद पत्रकारले दिए पाँच हजार डलर
भूकम्पपीडित नेपालीको सहयोगको निमित्त नेपालका खेलकुद पत्रकारको सङ्गठन खेलकुद पत्रकार मञ्च नेपालले पाँच हजार डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
सो रकमको चेक सङ्घले आज बिहान प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो । नेपालका भूकम्पपीडितको सहयोगको निमित्त खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल स्पोर्ट प्रेस एसोसियसनले पठाएको रकमबाट सो सहयोग गरिएको हो ।
यसमध्येको केही रकम भूकम्पमा परी दिवङ्गत हुनुभएको सुमन भोम्जनको परिवारलाई दिइएको छ भने केही रकम भूकम्पपीडित पत्रकारको सहयोगमा खर्च भएको जनाइएको छ । रासस













प्रतिक्रिया