१९ असार २०८३, शुक्रबार

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनु भएको छ ।

आज साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले, समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनु भएको हो ।

‘युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु । खेलाडीहरूको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु,’उहाँले भन्नुभयो ।

नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावना युक्त खेल विधा भएको उल्लेख गर्दै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो ।

आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीयतहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने जानकारी दिनुभयो ।

साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक जना शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्ती पञ्चायती व्यवस्था विरूद्ध कठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीहरूलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्दै आएको पनि बताउनुभयो ।