३० आश्विन २०८३, शुक्रबार

नेपाली कामदारलाई मलेसियामा नेपाली दूतावासले नै ठग्यो : एनआरएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malsiyaकाठमाडौ, ७ असार । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली कामदारलाई त्यहाँको नेपाली दूतावासले नै ठगी गर्दै खुलासा भएको छ ।

करिब ९ लाखको हाराहारीमा रहेका नेपाली कामदारहरुको हित प्रवद्र्धन गर्न मलेसियामा स्थापित नेपाली राजदूतवासले घर फिर्तीको नाममा प्रत्येक कामदारबाट सरकारी दस्तुर भन्दा झण्डै नौ हजार रुपैया बढी लिएर ठगी गरिरहेको गैर आवासीय नेपाली संघ मलेसियाले दाबी गरेको छ ।

मलेसियामा रोजगारीको क्रममा दुःख पाएकाहरुलाई कम्पनीले राहदानी फिर्ता नदिने भएका कारण कामदारहरुले दूतावासबाट १६० मलेसियन रुपैयाँ बुझाएर ट्राभल डकुमेन्ट बनाउने र त्यहाँको अध्यागमनमा गएर ४०० मलेसियन रुपैयाँ र ५०० रुपैयाँ टिकट शुल्क गरेर कुल १०६० मलेसियन रुपैयाँ खर्च गरेर नेपाल फर्किन पाउने प्रावधान छ ।

तर, पछिल्लो समयमा नेपाली दूतावासले १६० मलेसियन रुपैयाँ लिएर ट्राभल डकुमेन्ट दिनुपर्नेमा त्यो भन्दा अघि नै एक निजी कम्पनी कोप्रसी ईमिग्रेसन एसटीएन विएचडीलाई १२८० मलेसियन रुपैयाँ बुझाएर आएपछि ट्राभल डकुमेन्ट दिने ब्यवस्था गरेर ठगी गर्ने गरेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरेर एनआरएन मलेसियाले दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा एनआरएन मलेसियाका महासचिव सुनिल चालिसेले नेपालीहरुलाई कोप्रासी ईमिग्रेसन जान बाध्य नपर्दा १०६० रुपैयाँमा स्वदेश फर्किन पाउने नेपाली कामदारहरु अहिले नेपाली दूतावास र सो निजी कम्पनीको साठगाठको कारण १४४० रुपैयाँ बुझाउन बाध्य भएको बताए ।

उनले भने–‘सो निजी कम्पनीमा जान बाध्य पारिदा प्रत्येक ब्यक्तिले ३८० मलेसियन रुपैया (करिब ९ हजार नेपाली रुपैयाँ) बढी तिरिरहनु परेको छ ।’

अहिलेसम्म ४० हजार भन्दा बढी नेपालीहरु सो प्रक्रियाबाट फर्किदा ३६ करोड नेपाली रुपैयाँ नेपाली कामदारको असुलेको दावी गर्दै अझै नेपालमा विनाशकारी भूकम्प गएको दुई दिनपछि ५० मलेसियन रुपैयाँ अझै बढाएर ब्रम्हलुट मच्चाउँदा समेत सरोकारवाला निकाय नबोलेकोमा आश्चर्य प्रकट गरे ।

सो विषयमा सर्वोच्च अदालतमा दायर उत्प्रेसणको रिटमा अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग किन आदेश जारी गर्ने भनि जवाफ समेत माग गरिसकेको छ । तर पनि अहिलेसम्म त्यस्तो ठगि अहिलेसम्म पनि रोकिएको छैन ।

त्यस्तै एमआरपी पासपोर्टको फारम भर्न फोटो र फारम भराईको लागि गैर आवासीय नेपाली संघ मलेसियासँग ८ मलेसियन रुपैयाँमा गराउने गरी अन्तिम कुराकानी भएपनि दूतावासले कमिसनको लोभमा एनआरएनलाई नदिई स्थानीय निजी एजेण्डहरुबाट ४० रुपैयाँमा भर्न लगाउने गरेको भन्दै त्यसमा पनि दूतावासले कमिसन खानेको गरेको उनले दावी गरे ।

चालिसेले यो विषयमा राजदूत निरञ्जनमान सिंह बस्नेतको ध्यान आर्कषण गराउँदा आफूले यो प्रोजेक्ट नछाड्ने बरु दुतावास नै छाड्न तयार रहेको धम्की दिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाली नगारिकको सहजीकरणको लागि स्थापना भएको दूतावासले गरेको यस्तो ठगीप्रति सरकारको ध्यानाकर्षण सहित यसको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाहीको लागि माग गर्दै पीडितको ठगिएको रकम तत्काल फिर्ता गराउने पहल अघि बढोस भन्ने माग गरिएको थियो ।