२९ आश्विन २०८३, बिहिबार

दूधको मूल्य घट्दैन: दुग्ध विकास बोर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DDC-milk

रत्ननगर (चितवन), ७ असार । दुग्ध विकास बोर्डले भूकम्पकै कारण दूधको मूल्य नघट्ने भन्दै किसानलाई आश्वस्त पारेको छ ।

दूध किसानको समस्या बुझ्न चितवन आउनुभएका बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य घट्न नदिने प्रतिबद्धता जनाउनुभयो । होलिडे गर्नु नपर्ने वातावरण निर्माणमा बोर्ड लागेको उहाँले बताउनुभयो । सञ्चालन गर्न कठिनाई भइरहेका उद्योगलाई पब्लिक प्राइभेट साझेदारीको अवधारणामा सञ्चालन गर्नेतर्फ बोर्डको ध्यान गएको उहाँको भनाइ थियो ।

किसानले सोधेको जिज्ञासामा कार्यकारी निर्देशक पन्तले ‘चितवन मिल्क’मा सरकारी निजी साझेदारीको अवधारणा अनुसार काम गर्नका लागि प्रक्रिया सुरु भएको भन्दै त्यो नभए कुनै नयाँ उद्योग सञ्चालन गरेर भए पनि मिल्क होलिडे नहुने वातावरण बनाउने बताउनुभयो । सोही विषयामा बोर्डले अनुगमन गरेर कृषि मन्त्रालयमा प्रतिवेदन समेत पेस गरेको छ ।

ती उद्योग चलाउन नसकिए नयाँ उद्योग आवश्यक छ भनेर प्रतिवेदनमा उल्लेख गरिएको पन्तले जानकारी दिनुभयो । चितवन मिल्क र सुजल डेरी जस्ता उद्योगलाई टिकाइराख्नु आवश्यक भएको उहाँको भनाई छ । सो क्रममा पन्तले अहिले बोर्डले २० वर्षे दुग्ध विकास रणनीति तयार पारेर कृषि मन्त्रालयमा पेस गरेको भए पनि अर्थमन्त्रालयले स्वीकृति नदिँदा थाँति रहेको बताउनुभयो ।

उक्त योजनामा दूधलाई नेपालमा आत्मनिर्भर बनाउन गर्नुपर्ने क्रियाकलाप समेटिएको छ । गएको वर्ष नेपालमा १७ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्याङ्क छ । अझै करिब तीन देखि चार लाख लिटर दूध दैनिक अभाव छ । यहाँ दैनिक दुईदेखि साढे दुईलाख लिटर दूध उत्पादन हुँदै आएको समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले बताउनुभयो । कार्यक्रममा दुग्ध उत्पादन सहकारी सङ्घका केन्द्रीय अध्यक्ष नारायण देवकोटाले किसान सहभागी उद्योग सञ्चालन गर्न सके दूधमा किसान मर्कामा पर्नु नपर्नेमा जोड दिनुभयो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले घाँसमा आधारित पशुपालन हुनसके दूधको लागत घटाउन सकिने बताउनुभयो । किसानले भने दुग्ध किसानलाई सरकारले उचित तवरले सम्बोधन गर्न नसकेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएका थिए । रासस