
पोखरा, १ असार । ६५ दिनसम्म सञ्चालन गरिएको ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
‘सबैका लागि, सधैका लागि टेनिस’भन्ने मुख्य ध्येयका साथ सम्पन्न प्रशिक्षणमा सहभागि बालबालिकालाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले सबै उमेर समुहमा खेलकुद अघि बढाउन ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । यो कार्यक्रमले गण्डकी प्रदेशको खेलकुदलाई बलियो बनाउन र युवा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने आशा आयोजकको छ ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले परिषद्ले टेनिस विकासका लागि गरेको सहयोगका लागि अभार व्यक्त गर्दै प्रशिक्षणमा सहभागि मध्येबाट नै भावी राष्ट्रिय खेलाडी उत्पादन हुने बताउनुभयो । उहाँले भन्नुभयो–“परिषदले महत्वपूर्ण कार्यक्रमका लागि सहयोग गरेको छ । हामी खेलाडी उत्पादनमा गरेको प्रयासका लागि गरेको सहयोग प्रति धन्यबाद दिन चाहन्छु ।”
समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य केशव पाठक, कास्की टेनिसका सचिव नविन श्रेष्ठ, प्रदेश टेनिस संघका उपाध्यक्षद्वय लोक बहादुर गुरुङ, विष्णु केसीलगायतको सहभागिता रहेको थियो ।
६५ दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया