ऋग्वेदमा भनिएको छ ‘पूमान् प्रमांसं परिपातु’ अर्थात् एकले अर्कालाई सधैँ रक्षा र सहायता गर्नु मानिसको पहिलो कर्तव्य हो । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आध्यात्मिक चिन्तन, दुराचारप्रति विमुख, अहिंसा, सदाचार, कर्तव्य परायण जस्ता आदर्शोन्मुख उपदेश र नैतिक शिक्षा प्रदान गर्दै आदर्श समाजको निर्माणमा योगदान पुर्याउनु साधुसन्तको अभिलक्षण हो । पिताम्बरको धोति र लट्टा पाल्दैमा साधुत्वको पहिचान झल्किदैन । योगी नरहरिनाथको आगमन र उत्तरगया वेत्रावती धाममा आयोजना गरिएको कोटिहोमले यहाँको जनमानसमा सामान्यतः धार्मिक जागरण नै ल्यायो । त्यसपछि पनि यस क्षेत्रमा विभिन्न धार्मिक आयोजनाहरू भइरहन्थे र रहेका पनि छन् ।
यसै सन्दर्भमा उत्तरगया क्षेत्र विकास समितिको आयोजनामा तथा स्वमी विष्णु प्रपन्नाचार्य महाराजको महानायकत्त्वमा केही महिना अघि आर्थिक सङ्कलनको उद्देश्य राखी भागवत् महापुराणको सप्त दिवसीय कार्यक्रम सम्पन्न भयो । भक्तजन र दानवीर दाताहरूको सहयोगमा करिव दुई करोड रकम पनि जुट्यो रे । कार्यक्रम सकिँदै गर्दा कार्यक्रममा अत्यधिक खर्च गरिएको विषयमा मतमतान्तर भयो भन्ने चर्चा पनि चल्दैछ । यो अवश्य पनि गहन खोजको विषय हुँदै हो । त्यो भन्दा पनि बढी चर्चा आजभोलि त्यस कार्यक्रमका महानायक अर्थात् भागवत कार्यक्रमका वाचक एवम् आचार्य स्वामीजीको चरित्रलाई लिएर हुन थालेको छ ।
रसुवा र नुवाकोटको धार्मिक स्थलहरूको भ्रमण र दानका सन्दर्भमा स्वामीजीको क्षेत्र विस्तार हुँदै गर्दा स्थानीय सञ्चार माध्यमहरूले उहाँका विगत र वर्तमानलाई खोतलखातल पारि दिएपछि स्थानीयहरूमा उहाँप्रति श्रद्धाभावको सट्टा व्यापक रुपमा वितृष्णा फैलिएको छ । एक जना साधु जसलाई महापुरुष मान्दै पञ्चेबाजा र लावाफूलले भव्य स्वागत गरिँदै गर्दा तिनै व्यक्ति चोर, ठग, फटाहा, व्यभिचारी आदि आरोपमा प्रहरीद्वारा पक्राउ परी धरौटीमा छुटेको तथा भित्री रुपमा अहिल्यैसम्म पनि ती कर्महरू गरिरहेको भन्ने समाचार सुन्न र पढ्न पाउँदा जो कसैमा पनि पश्चाताप लाग्नु स्वभाविक नै छ । स्थानीय सञ्चार साधनहरूले प्रस्तुत गरेका उनका वैयक्तिक क्रियाकलापहरूले उनीलाई आदर्श पुरुष मान्ने हामी सबैलाई लज्जाबोध र हीनताभाव सिर्जना गरिदिएको छ ।
हुन त महाज्ञानीहरूलाई यसो भन्नु उचित नहुन सक्छ तापनि शास्त्रमा ‘अक्षीणो वित्ततः क्षणो वृत्ततस्तु हतोहतः’ अर्थात् धन नहुदैमा मानिस कमजोर हुँदैन तर जब उसको चरित्र क्षीण हुन पुग्छ अनि ऊ समाप्तै भएर जान्छ । स्वामीजी विन्ति छ पैसा उठाइ दिने नाउँमा कलुषणको दाग नपोती दिनुहोस् । हुन त पत्रिका, टेलिभिजन वा रेडियोले तपाईप्रति औल्याएका घटनाक्रमको जिम्मेवारी तपाईले कति लिनु हुने छ त्यो भविष्यले बताउला तर करबद्ध प्रमाण छ रसुवाका बेरोजगार युवायुवतीहरूलाई अमेरिकाको सपना देखाएर घरखेत नगराइ दिनुहोला ।
‘आत्मायतौ वृद्धि विनाशौ’ (व्यक्तिको वृद्धि र विनाशमा उसको आफ्नो व्यवहार निर्भर गर्दछ) भनेझैँ कुनै पनि व्यक्ति दुधले नहाएर चोखै त नहुन सक्छ । अज्ञान प्रवल भई कर्माकर्म वस्तु विवेक गर्न नसक्दा बुद्धि भ्रष्ट भई व्यक्ति कुकर्मको ओरालो सजिलै झर्दछ । एउटा भुललाई अर्को भुलले कदापि सच्याउन सक्दैन ।
स्वामीजीको कमाऊ धन्दासँगै वेत्रावतीको भागवत्को सहयोग रकम पनि नजोडियोस् । आयोजक समितिको यसमा बेलैमा ध्यान पुगोस् । जुन उदेश्यका निम्ति धर्मात्मा दातासँग सहयोग मागिएको हो सोही बमोजिम तुरुन्त जग खार्न थालियोस् । यो काम ढिला भैसकेको छ । धेरै सर्वसाधारणमा यस प्रकारको शड्ढाले मन पिरोलिन थालेको छ । होइन भने भगवान्को नाममा चढाइएको पैसा अनावश्यक रुपमा व्यक्ति पोषणमा पुर्याउने काम भएको रहेछ भने युगानुयुग श्रापित हुनु पर्नेछ ।
स्वामीजी ! धर्मको मार्ग देखाउने माहात्माहरूप्रति हाम्रो अनन्य झुकाब रहने छ । अज्ञानतामा गल्ती गर्दा क्षम्य हुन सक्दछ तर जानी बुझी पनि गलत नियत राखी अकर्मण्य गरिन्छ भने त्यसको प्रायश्चित छैन ।
‘ब्रजत्यधः प्रयात्युच्यैर्नर: स्वैरेव चेष्टितै;अधः कूपस्य खनक ऊध्र्वं प्रासादकारक’ भनेझैं कर्मले नै मानिस उच्च र निम्न बन्दछ । दर्बार बनाउँदै गरेको मानिस अग्लो ठाउँमा पुग्छ भने कुवा खन्दै गरेको मानिस झनझन तल पुग्दछ । तपाईका ती कर्तुतहरू साँचो हुन भने हामीलाई समेत समाजको अगाडि मुख देखाउन गाह्रो भयो । धार्मिक यात्राको नाममा रसुवा र नुवाकोटका युवायुवतीहरूलाई अमेरिकाको सपना बाँडी ललाइफकाइ घरखेत गराउनु हुन्छ भने कृपया अब आइन्दा भैरवी, जालपा, उत्तरगया तथा गोसाईंकुण्ड जस्तो पवित्र भूमि र यसका आसपासका पुण्य क्षेत्रमा पाइला टेकी अपवित्र बनाउने कष्ट नगर्नुहोला ।














प्रतिक्रिया