सुरुङ्गा (झापा), ६ असार । झापामा एउटा त्यस्तो गाविस छ जहाँ सबै छोरी र बुहारीलाई शिक्षा अनिवार्य जस्तै बनाइएको छ ।
छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै बिर्तामोडबाट झन्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको हो ।
गोलधापका स्थानीय बासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै अहिले उक्त गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रीत बसालेको छ । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका स्थानीय अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले बताउनुभयो ।
छोरी–बुहारी पढाउन त्यहाँका अगुवाले २०६६ सालमा जनजागृति क्याम्पसको स्थापना गर्दै त्यस यता उक्त क्याम्पसमा छोरी र बुहारीलाई शिक्षा प्रदान गर्ने काम भइआएको छ । आर्थिक अवस्था कमजोर भएका लक्ष्यित परिवारसम्म पुगेर सामुदायिक क्याम्पस सञ्चालक समितिका पदाधिकारीले उनीहरुलाई छात्रवृत्ति, पूर्ण छात्रवृत्ति प्रदान गरेर भए पनि शिक्षालाई अनिवार्य बनाएको जनजागृति क्याम्पस गोलधापका क्याम्पस प्रमुख हरि सङ्ग्रौलाले बताउनुभयो ।
सामुदयिक क्याम्पस सञ्चालनार्थ आर्थिक अभाव भएको समयमा गत वर्ष पुराणको आयोजना गरी झन्डै रु ५५ लाख जुटाइएको थियो र अहिले सो क्याम्पसमा छोरी–बुहारीसहित ८० जना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको क्याम्पसका सूचना अधिकारी अर्जुन न्यौपाने बताउनुभयो । उहाँका अनुसार क्याम्पसमा अधिकांश बुहारी अध्ययनरत छन् ।
विसं २०७१ को प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएसँगै छोरीहरु उक्त क्याम्पसमा पढ्ने तर्खरमा छन् भने त्यहाँ अध्ययनरत बुहारीहरु अहिले उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा ११ को परीक्षा दिइरहेको छन् ।
क्याम्पसमा आदिवासी, जनजाति र पिछडिएका समुदायका बुहारीसमेत आएर उच्च शिक्षा अध्ययन गर्न थालेसँगै अहिले गोलधापसहित छिमेकी गाविस राजगढ, चकचकी, जलथल, हल्दीबारी आसपासबाट समेत बुहारीहरु आएर क्याम्पसमा अध्ययन गर्ने गरेको क्याम्पस प्रमुख सङ्ग्रौलाले बताउनुभयो ।
दक्षिण क्षेत्रमै पुरानो विद्यालयका रुपमा चिनिएको जनजागृति उच्चमाविमा अध्ययनरत विद्यार्थी एसएलसीपछि पनि सोही विद्यालयमा सञ्चालित क्याम्पसमा अध्ययन गर्ने गरेको क्याम्पस प्रमुख सङ्ग्रौलाको भनाइ छ ।
यसरी सुरु गरे अभियान
पश्चिम नेपालका अधिकांश ठाउँमा नपढेका र दाइजो कम ल्याएका बुहारीलाई यातना दिने गरेको सन्दर्भमा त्यसलाई न्यून गर्न बुहारीलाई अनिवार्य शिक्षा प्रदान गर्ने अभियान सुरु गरेको क्याम्पस प्रमुख सङ्ग्रौलाले बताउनुभयो ।
“शिक्षित समुदायका व्यक्तिले पनि नपढेका बुहारीलाई यातना दिने गरेकाले आगामी दिनमा त्यसलाई पूर्णरुपमा निरुत्साहित गर्न अभियान सञ्चालन गरेका हौँ” – सङ्ग्रौलाले भन्नुभयो ।
सुरुका दिन विद्यार्थी कम भए पनि पछिल्लो समय घरदैलो अभियान सञ्चालन गरेपछि अहिले क्याम्पस भरिभराउ जस्तै भएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष निराजन दाहालले बताउनुभयो ।
एसएलसीपछि अझै पनि यहाँ छोरीको बिहे गरिदिने प्रचलन रहेको र पढ्ने इच्छा हुँदाहुँदै छोरी बुहारी बन्नुपर्ने बाध्यता यहाँ छ ।
जनजागृति क्याम्पसको सिको गर्दै अन्य गाविसमा पनि बुहारीलाई अनिवार्य शिक्षा दिने वातावरणको विकास हुँदै गएको छ ।
राम्रो कामको सुरुवात भयो – जिशिअ
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले गोलधापवासीले सुरु गरेको बुहारी पढाउ अभियान अत्यन्त राम्रो भएको बताउनुभएको छ ।
उहाँले छोरी र बुहारी शिक्षित भए परिवार पनि शिक्षित हुने भन्दै सबैले यो अभियानलाई साथ दिए झापाको मात्र होइन नेपालमै उदाहरणीय कामको सुरुवात हुन्छ भन्नुभयो । केही टाठाबाठा र सहर केन्द्रित शिक्षित समुदायका बुहारीले मात्र उच्च शिक्षा अध्ययन गर्दै आए पनि गोलधापले ग्रामीण क्षेत्रलाई समेटेर लक्ष्यित समुदायका छोरी–बुहारीले पनि सहजै पढ्न पाउने वातावरण सिर्जना गरिदिएको जिशिअ लुइँटेलको भनाइ छ ।
बुहारीहरु नियमित क्याम्पस आउँछन्
चुलाचौकामा सधैँ व्यस्त रहने यहाँका अधिकांश बुहारी उच्च शिक्षा अध्ययनका लागि घरको काम छाडेर भए पनि नियमित रुपमा क्याम्पस आउने गरेका छन् ।
विसं २०७१ मा क्याम्पसले गोलधापवासीका घर घरमा गएर छोरी र बुहारी अनिवार्य पढाउनुहोस् भन्दै अभियान सुरु गरेपछि अभिभावकले समेत आफ्ना बुहारी तथा छोरीलाई नियमित रुपमा क्याम्पस पठाउने गरेको स्थानीय तेजप्रसाद रेग्मीले बताउनुभयो ।
कक्षा ११ को परीक्षामा सामेल भएकी हल्दिबारी निवासी शर्मिला लामिछानेले परिवारकै सल्लाहले आफूले क्याम्पस पढ्न सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “श्रीमान्ले पनि तिमी पढ भन्नुभयो अनि म क्याम्पस आउन थालेकी हुँ ।” राजगढ – ८ घर भई सोही क्याम्पसमा बिएड दास्रो वर्षमा अध्ययनरत रमा भण्डारीका अनुसार क्याम्पसमा अध्ययनका लागि छोरीहरुभन्दा पनि बुहारीहरु नियमित क्याम्पस आउने गर्छन् । रासस
















प्रतिक्रिया