
काठमाडौं, २२ जेठ । भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदैछ । आज बिहान ८ बजेदेखि मत गणना सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरी सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो ।
२०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।
चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आंकलन गरेका छन् ।
५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, विपक्षी इण्डिया गठबन्धनले भने आफूहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन् ।








प्रतिक्रिया