धादिङ, ६ असार । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिनुभएको छ ।
भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा भावी योजनाबारे छलफल गर्न धादिङ आइपुग्नु भएका अध्यक्ष थापाले रेडक्रसको विश्वसनीयतामा असर पर्ने र संस्थाको छविमा आँच पुग्ने गरी कसैसँग सहकार्य र समन्वय नगर्न पनि निर्देशन दिनुभयो ।
, अध्यक्ष थापाले भन्नुभयो – “हामीले न चामल किन्ने हो, न भन्डारण र ढुवानी गर्ने हो । विश्व खाद्यसँग भएको सम्झौताअनुरुप हामीले बाँडिदिने मात्र हो । गुणस्तरीय चामल दिनु उनीहरुको दायित्व हो ।”
कार्यक्रममा धादिङका रेडक्रसकर्मीले पीडित परिवारको दिगो व्यवस्थापनका लागि तत्काल कार्यक्रम ल्याउन केन्द्रीय अध्यक्ष थापालाई आग्रह गरेका थिए ।
जवाफमा केन्द्रीय अध्यक्ष थापाले कम्बल, भाँडाकुँडा, त्रिपाल, घर बनाउने औजारलगायतका गैरखाद्य राहत सामग्री र नगद १५ हजार गरी तीन हजार परिवारलाई बाँड्न करिब नौ करोड रुपैयाँ बराबरको राहत सामग्री तत्काल उपलब्ध गरिदिने बताउनुभयो ।
धादिङ रेडक्रसका सभापति सीताराम कोइरालाका अनुसार हालसम्म जिल्ला दैवी प्रकोप उद्धार समितिसँगको समन्वयमा धादिङ जिल्लामा करिब ६० हजार पाल, एक हजार ३७४ क्विन्टल चामल, तीन हजार ५०० भन्दा बढी सरसफाइका सामग्री प्रभावित क्षेत्रमा वितरण गरिसकिएको छ । रासस
















प्रतिक्रिया