१ कार्तिक २०८३, आइतबार

‘द स्कुल वाल’ किनो फेस्टिभलको फाइनलमा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । रसियाको ‘किनो फेस्टिभल’को फाइनलमा नेपाली सर्ट फिल्म ‘द स्कुल वाल’ पुगेको छ ।

बालमनोविज्ञानमा आधारित फिल्म यसअघि नाइजेरियाको ‘इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल’, इरानको ‘रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल’, जिम्वावेको ‘भर्सिटी फिल्म एक्स्पो’ र बेलायतको ‘लिफ्ट अफ फिल्ममेकर सेसन्स’मा छनोट भएको थियो ।

काठमाडौंमा हालै सम्पन्न ‘काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल(किम्फ)’मा यो फिल्म छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो । मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको फिल्ममा श्लोक साह, सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, विदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाललगायतको अभिनय छ । फिल्मका कास्टिङ डिरेक्टर तथा निर्माता सुरेन्द्र क्षेत्री हुनुहुन्छ ।

निर्देशक अभिलाषीले ‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको बताउनुभयो । ‘फिल्ममा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथा देखाइएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाय अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के केसम्म गर्न सक्छ भन्ने कुरा फिल्ममा देखाएका छौँ ।’

रसियाको क्रेस्टोभय ५ मा सेप्टेम्बर १२ देखि १६ सम्म आयोजना हुन लागेको यही फेस्टिभलमा अभिलाषीकै लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘पाउलो’ पनि छनोट भएको छ । यो फिल्म यसअघि भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल ’आईसीएफसी’ को नोमिनेशनमा परेको थियो ।

जुत्ताको कथावस्तु रहेको ‘पाउलो’मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गर्नुभएको छ ।

‘पाउलो’ले पशुपतिनाथ परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा बोल्छ । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । काठमाडौंमा छायांकन गरिएको दुवै फिल्मको छायांकार नारायण जिसी हुनुहुन्छ । फिल्ममा अनिलकुमार महर्जनको रंग संयोजन, करन साउदको सहायक निर्देशन छ ।