२३ असार २०८३, मंगलबार

सगरमाथा आरोहणको ७१ वर्ष : कीर्तिमान बनाउने र तोड्ने लहर

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो । ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथाका सम्बन्धमा हजारौं शब्दमा वर्णन गेर किताब लेखिएका छन् भने, कयौं गीत र कविता सिर्जना भएका छन् ।

विश्वका कुना कुनामा सगरमाथाको तस्वीर छरिएको मात्रै छैन, धेरैले नेपाललाई सगरमाथाको देश भनेर चिनेका छन् । हिउँमा टल्कँदा अदभूत र रोमान्चक लाग्ने सगरमाथा नेपाली नोटमा छापिएको छ भने हुलाक टिकट प्रकाशित छ । सगरमाथाले हामीलाई विश्वभर चिनाएको छ तर अझै नेपालीले सगरमाथालाई चिन्न सकेनन् कि भन्ने कुरा सगरमाथामा बढ्दो मानव सिर्जित समस्याहरुले जताइरहेको छ ।

वास्तवमा सगरमाथा चढ्नु भनेको विश्व कीर्तिमान राख्नु हो । यस्ता कीर्तिमान राख्न विश्वका मानिसहरु नेपाली माटोमा टेक्न आइपुग्छन र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७१ वर्षमा शिखरमा पाइला टेक्दा अनौठा कीर्तिमानहरु बनेका छन् । जसका कारण अझै नौलो कीर्तिमान बनाउन आरोहीहरु संघर्ष गरिरहेका छन् । सगरमाथाको आफ्नै इतिहास र गरिमा छ । अंग्रेजी महिनाको मे २९ तारिख विश्वभर ‘एभरेष्ट डे’ का रुपमा मनाउने गरिन्छ ।

मानव र सगरमाथाबीचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको छ । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । यो सँगै नेपालको गौरव बनेको शिखरमा मानव पुगेको सात दशक पूरा भएको छ ।

आरोहणको इतिहासमा यसवर्ष वसन्तकालीन आरोहणका लागि विभिन्न ४५ वटा टोलीका ४२१ जनाले अनुमति लिएका थिए । आरोहण दस्तुर वापत ६० करोड भन्दा बढी रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।

चुचुरोमा मानव पाइला टेकेको ७० वर्षे इतिहासमा गत वर्ष सबैभन्दा धेरै ४ सय ७८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । ६६ करोड ६४ लाख रुपैयाँ रोयल्टी नै संकलन भएको छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा प्रतिविदेशी नागरिकले एघार हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हजार पाँचसय र शिशिर तथा वर्षा ऋतुमा २ हजार ७ सय ५० डलर तिर्नुपर्छ ।

कुनैबेला सगरमाथा आरोहण गर्न सबैलाई अनुमति थिएन । शारीरिक रुपमा अशक्त अर्थात अपाङ्गता भएका व्यक्तिलाई ६ हजार ५ मिटर भन्दा माथिको हिमाल आरोहण गर्न अनुमति थिएन । तर, अब सगरमाथा चढ्नलाई सबैलाई खुल्ला गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेसँगै सगरमाथा सबैका लागि खुला भएको छ ।

पत्रकार एवम् सामाजिक अभियन्ता माधवप्रसाद चम्लागाईंको अगुवाइमा नियमावली खारेज गर्न माग गर्दै भानु निरौलाले दायर गरेको रिटमा दुवै हात वा दुवै खुट्टा वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने भन्ने पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकसँग बाँझिएको हुँदा सो नियमावली खोरज भएको फैसलामा गरिएको थियो । चम्लागाईका अनुसार पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ को उपनियम २ (क) थप गरी दुवै हात वा दुवै खुट्टा नभएको वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली संशोधन तत्काललाई कार्यान्वयन नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतले गत २०७५ मैे नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी भएको थियो ।

चम्लागाई भन्नुहुन्छ, ‘नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानूनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन् भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको भनि हामीले रिट दिएका थियौं । सर्वोच्चले न्याय गरेको छ । अब सगरमाथा सबैका लागि भएको छ ।’

कृतिम खुट्टाले सगरमाथाको सफल आरोहण

सबैका लागि आरोहण गर्न पाउने व्यवस्थाकै फलस्वरुप पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभयो । उहाँले २०८० जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेक्नुभएको थियो । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरिसक्नुभएको छ ।

झन्डै पाँच वर्षको प्रयासमा कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो ।

त्यस्तै, २०१४ मै नक्कली खुट्टाको साहारामा भारतकी अरुणिमा सिन्हाले पनि आरोहण गरेर कीर्तिमान राख्नुभएको थियो भने चीनका दृष्टिविहीन आरोही झांग होंगले सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाउनुभएको थियो । दृष्टिविहीन अमिट केसीले पनि आरोहणको प्रयास गर्नुभएको थियो ।

लहर कीर्तिमानकै

सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गरेपछी कीर्तिमान तोड्न लहर चलेको छ । जसका कारण नेपाल विश्वमा थप परिचित बन्दै गएको छ । विश्व रेकर्ड बनाउनकै लागि सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, विना अक्सिजन, सगरमाथाबाटै प्याराग्लाइडिङ गरेर, सांगीतिक कन्सर्ट गरेरसमेत सगरमाथा आरोहण गरेका कीर्तिमान बनिरहेका छन् ।

यस वर्ष विख्यात पर्वतारोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्डै ३०औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ इतिहास रच्नुभएको छ । यस सिजनमा मात्रै उहाँ दुई पटक सगरमाथाको चुचुरोमा पुग्नुभयो । ५४ वर्षीय कीर्तिमानी आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण सन् १९९४ मा गर्नुभएको थियो । उहाँकै हाराहारीमा पासाङ दावा शेर्पाले पनि २७औं पटक चुचुरो चुम्नुभएको छ ।

कीर्तिमानी बनाउने प्रतिस्पर्धाबीच गतवर्ष जेठ १ गते १६ वर्षीया चिनियाँ युवती सुई चो युआनले पनि सबैभन्दा कान्छी आरोहीका रुपमा सगरमाथाको सफल आरोहण गर्नुभयो । उहाँले बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको दक्षिणी मोहडाबाट शिखर चुम्न सफल हुनुभएको थियो ।

महिला आरोही फुन्जो जाङ्मु लामा यसवर्ष १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुगेपछि उहाँले सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको रूपमा कीर्तिमान बनाउनुभयो । गोर्खाकी महिला आरोही तथा पत्रकार पुर्णिमा श्रेष्ठले यसै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाइसक्नुभएको छ ।

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पा हुनुहुन्थो । उहाँका श्रीमान ल्हाक्पा सोनाम शेर्पाले पनि यसैपाली सगरमाथाको सफल आरोहण गरेर चर्चा बटुल्नुभयो । आफ्नो श्रीमती पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० वर्षपछि सोनाम पहिलोपटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।

विभिन्न तरिकाले कीर्तिमानी कायम गर्ने लहरले सगरमाथालाई थप उचाइ दिएको छ । सबैभन्दा छिटो ८ घन्टा १० मिनेटमा आरोहण गरेर पेम्बादोर्जे शेर्पाले रेकर्ड आफ्नो नाममा राखेका छन् ।

यस्तै, विना अक्सिजन सबैभन्दा छिटो (२० घन्टा २४) मिनेटमा सगरमाथा आरोहण गर्ने कीर्तिमानी काजी शेर्पा हुनुहुन्छ । चुचुरोमै सबैभन्दा धेरै समय २१ घन्टा विताएर बाबुछिरी शेर्पा, जापानका युचिरो मिउराले आफ्ना नाउँमा रेकर्ड राख्नुभएको छ ।

यस्तै, सबैभन्दा पाको उमेर ८० वर्ष (२२४ दिन), अमेरिकाको जोडान रोमारियो सबैभन्दा कम उमेर १३ बर्ष १० महिना १० दिनमा शिखर चुमेर कीर्तिमान कायम गरिसक्नुभएको छ ।

एकै याममा दुईपटक सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले बनाएको कीर्तिमान पछिल्लो समय ब्रेक गर्न चर्चित कीर्तिमानी आरोही कामिरीता र पूर्णिमाहरु सफल भइरहनुभएको छ ।

सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गर्दछन् । यो मात्र होइन सगरमाथाकै चुचुरोमै विवाह गरेको कीर्तिमान पनि छ । पेम दोर्जी शेर्पा र मोनी मुलेपतीले ३० मे २००५ मा सगरमाथाको सफल आरोहण गर्दै चुचुरोमै विवाह गर्नुभयो । उहाँहरुले विश्वकै सबैभन्दा अग्लो ठाउँमा विवाह गर्ने जोडी बनेर कीर्तिमान बनाउनुभएको थियो । यस्ता कीर्तिमान आरोहीहरुले बनाइरहेका छन् । यही कीर्तिमानीका कारण सगरमाथाको चर्चा विश्वभर चुलिएको छ ।

यद्यपि, सगरमाथामा स्वघोषित कीर्तिमान बनाउने नाममा कानून विपरीत र अमर्यादित हर्कतहरुले सरकारलाई हैरानी बनाएको छ । पछिल्लो पटक सगरमाथामा शिखरमा एक विदेशीले अश्लील रेकर्ड बनाएको दाबी गरेको फोटो सार्वजनिक गरेपछि मन्त्रालय र पर्यटन विभाग नै तनावमा परेको थियो । नियमावली विपरित भएका गतिविधि रोक्न नसक्दा सरकारले सम्पर्क अधिकृतहरु खटाउने गरेको छ तर गलत सूचना, तस्वीर र भिडियो सार्वजनिक हुनेक्रम रोकिएको छैन् ।

नामाकरणको रोचक इतिहास

सगरमाथाका अनेक नाम छन् । इतिहासमा विविधता छ । इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नामाकरण गरेको इतिहास नेपालका शिक्षालयका पाठ्यक्रममा प्रशस्त पढ्न पाइन्छ । ऐतिहासिक विषयका अध्येता निर्मल श्रेष्ठले एक आलेखमा भन्नुभएको छ ‘सगर’ र ‘माथ’ शब्द धेरै पुराना संस्कृत शब्द हुन । ‘सगर’ले ‘आकाश’ वा ‘अन्तरिक्ष’ भन्ने बोध हुन्छ भने ‘माथ’ वा ‘माथा’ शब्दले ‘शीर’ भन्ने जनाउँछ । यसले सगरमाथा भन्नाले ‘आकाशलाई छुने शीर’ वा ‘आकाशतिर उन्मुख शीर’ भन्ने बुझाउँछ ।

तिब्बती–बर्मेली भाषा समूहका शेर्पा र तिब्बतीहरुले ‘सगरमाथा’लाई ‘चोमोलुङ्मा’ भन्ने गर्छन । ‘चोमोलुङ्मा’को शाब्दिक अर्थ ‘आकाशकी देवी’ भन्ने हुन्छ । शेर्पाहरुले ‘चोमोलुङ्मा’लाई पहाडको चुचुरोको रुपमा मात्र होइन, ‘देवीको चिह्न’को रुपमा आस्था राख्ने गर्छन । साथै सगरमाथा/चोमोलुङ्मालाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिने गर्छन् ।

अध्येता श्रेष्ठको आलेख ‘सगरमाथाको नाप र नामकरण’का अनुसार सन् १८४९ देखि १८५५ सम्म ‘सर्भे अफ इन्डिया’ले नेपालको हिमालहरुका चुचुरोहरुको सर्भे गर्ने कामको थालनी गरेको थियो । सर्भे गरिएका चुचुरोहरुमध्ये एउटा चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरो हुनेछ भन्ने अनुमान कसैलाई थिएन । तिब्बती र शेर्पाहरुले ‘चोमोलुङ्मा’ र नेपाली भाषामा ‘सगरमाथा’ भनिने यस चुचुरोलाई सन् १८५५ को अन्तिमतिर रोमन न्युमरलबाट ‘पिक फिप्टिन’ भनेर नामकरण गरिएको थियो । तर जव यो चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरा हो भनी आधिकारिक घोषणा भयो त्यसपछिको दश बर्ष नाम के राख्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।

अध्येता श्रेष्ठका अनुसार त्यसबेला सर्भेयर जनरल अफ इन्डियामा कर्नेल एनडर्यु ओङ हुनुहुन्थो । उहाँको कायम–मुकायम पदमा कर्नेल हेनरी टुइलर हुनुहुन्थो भने चिफ कम्प्युटरमा राधानाथ सिकदर हुनुहुन्थो । उहाँहरुले सर जर्ज एभरेस्टको नामबाट यस चुचुरोको नामकरण गर्ने निधो गर्नुभएको थियो ।

सन् १८३० मा सर्भेयर जनरल अफ इन्डियाको सर्भेयर जनरल भएका सर जर्ज एभरेस्टको भारतको भूरेखात्मक लम्बाइ नाप गरिने सर्भेको काममा ठूलो योगदान थियो र सर जर्ज एभरेस्टको भूमापनसम्बन्धी कार्यलाई श्रेष्ठतम मान्ने गरिन्थ्यो । उहाँको योगदानको कदरस्वरुप मार्च १८५६ मा ‘सर जर्ज एभरेस्ट’को नामबाट यस चुचुरोको नाम ‘मोन्ट एभरेस्ट’ हुनुपर्छ भनी सुझाइएपछि रोयल जिओग्राफिकल सोसाइटी अफ ब्रिटेनले स्वीकृति दिएको थियो ।

‘मोन्ट एभरेस्ट’ नामकरण गरिएको यस चुचुरोको नाम एक वर्षपछि ‘माउन्ट एभरेस्ट’ भनी पुनः नामकरण गरिएको थियो । सर जर्ज एभरेस्टको जन्म इंग्ल्यान्डको ग्रिनविजमा सन् १७९० जुलाई ४ तारिखका दिन भएको थियो । विस्तारै विश्वभर माउन्ट एभरेष्टको चर्चा चुलियो र मे २९ तारिखलाई माउन्ट एभरेष्ट डे भनेर विश्वभर विविध कार्यक्रम गरेर मनाउन थालियो ।

सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’मा पनि सगरमाथाको ऐतिहासिक सन्दर्भमा रोचक प्रसंगहरु पढ्न पाइन्छ । पुस्तकमा ‘महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’मा सगरमाथालाई पहाडहरुका राजा भनेर वर्णन भएको तथ्य रोचक ढंगले प्रस्तुत गरेका छन् । ऐतिहासिक र स्थलगत भ्रमणको रमाइलो प्रसंग पढ्न पाइन्छ ।

चुनौती अनेक

सगरमाथा अहिले विश्वका साहसीक पर्वतारोहीहरुको मुख्य रोजाइमा छ । आधार शिविरसम्म पुगेर चुचुरोलाई स्पर्स गर्ने तथा शिखरमै पुगेर चुम्ने होडबाजी चलिरहेको छ ।

पछिल्ला वर्षहरु सगरमाथा क्षेत्रमा आरोहण गर्न जानेहरुले गरेको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ भने मृत्यु भएका आरोही र भरियाहरुको शव व्यवस्थापन पनि सरकारकै लागि चुनौतिपूर्ण देखिन्छ । आरोही र तिनका सहयोगीको संख्या बढेसँगै फोहरमैला पनि थपिँदै गएको छ । आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने क्रम बढेको छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार आरोहण सञ्चालक र आरोहीले आरोहणका क्रममा प्रयोग गरेका अक्सिजन सिलिन्डर, रेगुलेटर, टेन्ट र खाना राख्न प्रयोग गरिएका प्लास्टिकलगायत सामग्री फिर्ता ल्याउनुपर्ने, यस बाहेक प्रत्येक आरोहीले फर्कंदा आठ किलोग्राम फोहर आधार शिविर ल्याउनुपर्ने भएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । सगरमाथामा अर्को ठूलो समस्या भनेको जलवायु परिवर्तनको असर हो ।

बढ्दो विश्वव्यापी तापमानका कारण हिउँका सतह र हिमनदी छिटोछिटो पग्लिरहेका छन् । काला चट्टानहरु देखिन थालेका छन् । हिउँ पग्लिएपछि शवहरु छरपष्ट देखिने गरेको आरोहीहरु नै बताउने गर्छन । हिमताल फुट्ने खतरा बढिरहेको छ । छिटो हिउँ पग्लिदा सगरमाथाको सुन्दरतामा कमी आउने चुनौती बढेको छ ।

बेलायतको एक्जेटर विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा जलवायु परिवर्तनको कारणले सगरमाथाजस्तो उच्च हिमाली क्षेत्रमा पनि रुख बिरुवा उम्रन सक्ने र हिमालको सुन्दरता मेटिन सक्ने अनुमान गरिएको छ । साथै हिमनदीका कारण बाढीको जोखिम बढ्ने देखिएको छ । यस कारण सगरमाथाको अस्तित्व जोगाउनु सरकार र सरोकारवालाका लागि ठूलो चुनौतिका रुपमा खडा भएको छ । त्यसका अलावा सगरमाथाको उचाइ मापन गर्ने विषय नेपालका लागि चुनौतिपूर्ण भएको छ ।

यद्यपि, २०७७ मंसिरमा चीन र नेपालले संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दा विवरणमा एकरुपता आएसँगै विश्वासको वातावरण बनेको छ । त्यतिबेला सगरमाथाको उचाइ घटेको अनुमान चारैतिर भैरहँदा ८८४८.८६ मिटर पुगेको नापी विभागले प्रस्ट पारेको थियो । तर, भविष्यमा यस्ता समस्याहरु दोहोरिनसक्ने भएकाले त्यसतर्फ सरकार सर्तक रहन आवश्यक छ । सगरमाथामा थुप्रिएको फोहोर सफा गर्न प्रभावकारी कार्यक्रमको आवश्यकता देखिन्छ ।