एनआरएन अमेरिकाको निर्वाचनको नतिजालाई चरम विवाद र अन्यौल भइरहेका बेला एनआरएनका क्षेत्रीय उपसंयोजक सोनाम लामाले एनआरएन अमेरिकाको निर्वाचनलाई आफूहरुले अहिलेसम्म नस्वीकारेको बताउनुभएको छ ।
दैनिक नेपालसँगको कुराकानी गर्दै उहाँले असन्तुष्ट पक्षले आरोप लगाएझैँ निर्वाचनका क्रममा थुप्रै कमजोरी भेटिएको बताउनुभएको छ । एनआरएन अमेरिकाको मतपरिणामसहित सबै रिपोर्ट आफूले आइसीसीमा पठाइसकेको भन्दै उहाँले छिट्टै एउटा निष्कर्षमा पुगिने बताउनुभएको छ ।
क्षेत्रीय उपसंयोजक लामासँग दैनिक नेपालले गरेको संक्षिप्त कुराकानीः
एनआरएन अमेरिकाको विवादलाई कसरी लिने ?
एनआरएनको निर्वाचन हुनुभन्दा छ महिना पहिला साधारण सभा हुने गर्छ । त्यो साधारणसभा बमोजिम नै विधान संशोधन र निर्वाचन हुने गर्छ । तर, अमेरिकाको एनआरएनले भने आइसीसीको विधानलाई मानेन । विधान विपरीत संसोधन गर्ने काम गरियो । समस्या त्यहीँबाट सुरु भएको हो ।
एनआरएन र नेपाल सरकारको कानुनी व्यवस्था अनुसार नेपाल बाहिर दुई बर्ष बस्नेमात्रै एनआरएन मान्न सकिन्छ । तर, अमेरिकाको एनआरएनले अमेरिकाका लागि एकबर्ष र आइसीसीका लागि दुईबर्ष अमेरिका बसेकोलाई सदस्यता दिनसक्ने निर्णय लियो । संसारभरको एनआरएनको विधान एउटै हुनुपर्छ । अमेरिकाको एनआरएनको विधानमात्रै कसरी फरक हुनै सक्दैन नि । महासचिव कुमार पन्तले साधारणसभा नै विधानसम्मत भएन भनेर दुईपटक इमेल गर्नुभयो । तर, त्यतिबेला महासचिवको निर्देशनलाई मान्ने काम गरिएन ।
विधानविपरीत चुनाव भएको थियो भने तपाईंले किन हस्तक्षेप गर्नुभएन त ?
हामीसँग कुनै सल्लाह नै भएन । तत्कालिन अध्यक्ष र प्रमुख निर्वाचन अधिकृतले विधानका बारेमा कुनै सरोकार राख्नुभएन । चुनाव गर्नुभयो । अप्रिल २५ मा जब निर्वाचनको अन्तिम नतिजा आयो । त्यही दिन अध्यक्षका उम्मेदवार गणेश कुँबर, श्री पराजुली र नागेन्द्र पौडेल, वरिष्ठ उपाध्यक्ष नेदेन डंगोला शेर्पा र उपाध्यक्ष मोहन थापा, बोर्ड डाइरेक्टर सत्येन्द्र शाह लगायतले उजुरी दिएका थिए । त्यही दिनदेखि पारदर्शितामाथि प्रश्न उठेको छ । विवाद त्यस दिनदेखि नै सुरु भएको हो ।
हामीले अहिलेसम्म निर्वाचन मानेका छैनौँ । किनकी उहाँले हाम्रो निर्देशन नै मान्नुभएन । हामी अमेरिकाको एनआरएन भनेर मात्रै हुन्छ र, विधान पनि मान्नुपर्छ नि !
निर्वाचनको एउटा नियम हुन्छ, संगठन पद्दतिमा चल्छ । तर, चुनावअघि क्षेत्रीय संयोजक र क्षेत्रीय उपसंयोजक केही होइन् भन्दै हिँडने अहिले चाँहि मिलाउनुपर्छ भन्ने ? अप्ठेरो परेपछि मात्रै हामीलाई खोज्ने काम गरिएको हो । यो ठीक भएन् । पहिला नै सल्लाह नै गर्नुपर्दथ्यो ।
अहिलेसम्म किन समाधान भएन त ?
महाभूकम्पका कारण हामी नेपालमा आयौँ । जब म नेपालमबाट फर्किएँ, उजुरीकृर्ता (पराजित पक्ष) हरुले चुनावमा भएका कमजोरीका सबै प्रमाणसहित बसेका थिए । हाम्रो कुरा कसैले सुनेन भनेर उनीहरु आक्रोशित अबस्था थिए ।
एकैपटक ६ हजार २ सय ३० डलर दिएर एकैव्यक्तिले उम्मेदवार बनाएको भेटिएको छ अनि एउटै ठाउँबाट छ जनाले भोट हाल्न पाउनुपर्नेमा सयौँ जनाले एकैपटक, एकैजना व्यक्तिलाई मात्र भोट हालिएको उजुरी आएको छ । यो त अन्तरराष्ट्रिय समन्वय परिषद्को विधान विपरीत कार्य हो । यो म एक्लैले समाधान गर्न सक्ने कुरा होइन् ।
पहिलो कुरा त चुनाव गर्दा विधान नै मानिएन । दोस्रोकुरा, उजुरीकर्ताले भोटिङफ्रडको प्रमाण देखाएको अबस्था छ । डा. केशव पौडेलले बैठक राखेर मिलाइदिनुस् भन्नुहुन्छ । तर, यसको जिम्मा प्रमुख निर्वाचन अधिकृत र तत्कालिन अध्यक्षले लिनुपर्छ ।
एनआरएनन अमेरिकाको निर्वाचनमा भोटिङ फ्रड नै भयो भन्ने शब्द त म प्रयोग गर्दिन । तर, थुप्रै कमजोरी भएका छन् । त्यसैले यही अबस्थामा मिलाउन अप्ठेरो छ ।
तपाईँहरुले अब हस्तक्षेप गर्नुहुन्छ कि गर्नुहुन्न ?
मैले सबै रिपोर्ट एनआरएन आइसीसीलाई पठाएको छु । आइसीसीले सचिवालयमा पठाएको छ । उसले अन्तिम निर्णय गर्छ । त्यसपछि अर्को निर्णय लिनुपर्छ ।
चुनाव लडेपछि जित हार त भइहाल्छ । तर, प्रवासमा नेपालीहरु यसरी जुध्नु ठीक हो त ?
एउटा पक्षले जितेको भन्छ, अर्कोले मतदानमा ‘फ्रड’ भयो, भन्छ । संसारकै उच्चप्रविधियुक्त यस्ता सवाल उठ्नु लाजमर्दो कुरा हो । यसअघि हामीले प्रत्यक्ष मतदान गरेका थियौँ, अहिले सजिलोका लागि विद्युतीय मतदान गरेका हौँ । तर, अब यो माथि प्रश्न उठेपछि छानबिन गर्नुपर्छ । किनकी अमेरिका जस्तो देशमा भोटिङ फ्रड हुनुहुँदैन । अहिले एनआरएनकै एक जना उपाध्यक्षले उचाल्ने काम गरेको पनि सुनिएको छ, यदि त्यो सत्य हो भने ठीक होइन् । अमेरिकाको क्षेत्रीय उपसंयोजक भएकाले यहाँ ठीक र बेठीक भएको छ मलाई राम्रैसँग थाहा छ । अरुले धेरै चिन्ता लिइरहनु धेरै जरुरत छैन । अहिले हामी आइसीसीको सचिवालयले गर्ने निर्णयलाई पर्खेर बसेका छौँ । प्रस्तुतिः कमलराज भट्ट / दैनिक नेपाल














प्रतिक्रिया