२९ आश्विन २०८३, बिहिबार

कति टिक्ला उपेन्द्र यादव र अशोक राईको एकता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadav-Ashok-Rai

– समाचार टिप्पणी

नेपालमा भर्खरै नयाँ पार्टीको जन्म भएको छ । आफूलाई शक्तिशाली पार्टीको दर्जामा राखेर मधेसी नेता उपेन्द्र यादव र आदिवासी नेता अशोक राईले सोमबारदेखि ‘संघीय समाजवादी फोरम नेपाल’ नामक नयाँ पार्टी स्थापना गरेका हुन् । जातीवादी तीन वटा पार्टी मर्ज गरेर बनेको यो पार्टी उनीहरुकै दाबी अनुसार नेपालकै पाँचौ ठूलो पार्टी हो ।

कुनै बेला आफ्नै कार्यकर्ता रहेका उपेन्द्रको अध्यक्षतामा स्थापना भएको ‘संघीय समाजवादी फोरम नेपाल’मा अशोक राई वरिष्ठ नेता बनेका छन् । नेपालका प्रमुख दल कांग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपालपछिको ठूलो पार्टीका रुपमा ‘संघीय समाजवादी फोरम नेपाल’लाई घोषणा गरिएको हो । स्पष्ट एजेन्डा र कार्ययोजना नै नभई स्थापना गरिएको नयाँ पार्टीका दुबै नेताको धारणा फरक छ । तरपनि नयाँ योजनाका साथ पार्टी एकता गरेको दाबी गरेका छन् । पहिचानसहितको संघीयता यो पार्टीको मुख्य एजेण्डा रहेको छ । जुन कांग्रेस, एमाले र माओवादीसँग मिल्छ ।
उपेन्द्र यादव र अशोक राई अहिलेको नेकपा एमालेको स्कुलिङमा हुर्केका नेता हुन् । तर एजेण्डा भने माओवादीसँग मिल्ने समातेका छन् । नयाँ पार्टी खोल्नु भनेको एजेण्डा नयाँ हुनु हो । तर, उपेन्द्र र अशोकको जोडीले पुरानै एजेण्डालाई नयाँ भनेर पार्टी स्थापना गरेका हुन् । एकातिर तीन दल गाभिएर एक बन्नु सकारात्मक कुरा हो भने पुरानै एजेण्डा बोक्नु अर्थहीन कुरा हो ।

कुनै बेलाका काँग्रेसका हस्ती विजयकुमार गच्छदार र जेपी गुप्तालाई आफ्ना पार्टीमा टिकाउन नसक्ने उपेन्द्रसँग अशोकलाई टिकाउने के जादु होला ? राजनीतिक रुपमा यो पार्टीको के अर्थ छ र ? ‘यो नयाँ सिसीको पुरानो झोल’ न हो ।

अब कुरा रह्यो उपेन्द्र र अशोकको । यी दुबै नेताको भिजन नै फरक–फरक छ । दुबैले मिलेर नयाँ पार्टी त खोले, तर कति दिन टिक्ने हो थाहा छैन ? मधेसतिरको नेता भएकाले उपेन्द्र यादव मधेशको वकालत गर्दै आएका छन् भने पछिल्लोपटक जातीवादी नेता बनेका अशोक राईले त्यसैतर्फ वकालत गरिरहेका छन् । दुबैले बोकेको मिल्ने एउटा एजेण्डा भनेको पहिचानसहितको संघीयता हो । जुन एमाओवादीको पनि एजेण्डा हो । तर, यो एजेण्डा सजिलैसँग पूरा हुने देखिन्छ । किनकी यसमा एमाओवादी कस्सिएर लागेको छ । जबकि काँग्रेस र एमालेले पनि १६ बुँदे सहमतिमार्फत त्यसमा सहमति जनाइसकेका छन् । तसर्थ, राजनीतिक रुपमा यो पार्टीको के अर्थ छ र ? अर्थात, यो नयाँ सिसीको पुरानो झोल हो ।

मिल्ने एजेण्डा पूरा भएपनि उपेन्द्र र अशोकबीच मधेश र आदिवासी अधिकारबारे भिन्न मत देखिने पक्का छ । आगामी दिनमा पार्टीको एजेण्डा के बनाउने भन्नेमै विवादमा पुग्नेछ । फलस्वरुप दुबै नेताको सम्बन्धविच्छेद हुने निश्चित छ । हुन त अशोक राईलाई अवसरवादी नेता पनि भनिन्छ । मुलुक जातीय राजनीतिको भासमा जाने भएकाले त्यसैबाट लाभ लिन उनी संघीय पार्टी खालेर एमालेको प्रभावशाली पद छाडेर हिँडेका थिए । आफूले एमाले छाडेपछि जनजातिप्रति उसको समर्थन टुट्ने अशोकको दाबी दोस्रो संविधानसभाको निर्वाचनले गलत सावित गरिदियो । अर्थात, एमालेले लिएको अडानलाई जनमतले सत्य सावित मात्रै गरिदिएन, संघीय समाजवादी खोल्ने उनको निर्णयलाई गलत प्रमाणित गरिदियो । उनले न संघीय समाजवादीलाई एमालेको हाराहारीमा ल्याउन सके, न माओवादीकै हाराहारीमै उकास्न सक्थे । नारा माओवादीको बोके पनि उनको जनमत राप्रपाको जत्ति पनि भएन् । तसर्थ, उपेन्द्रसँग मर्ज गरेर ठूलो दल बन्ने उनको महत्वाकाँक्षा पनि धेरै दिन टिक्ला भनेर भन्न सकिन्न ।

अझ यो पार्टीमा खस समावेशी राष्ट्रिय पार्टी पनि मिल्न आफैमा रोचक छ । मधेशीका मात्रै वकालत गर्ने उपेन्द्र यादव, जातिवादको नारा बोक्ने अशोक राई र खस क्षेत्रीका लागि खुकुरी देखाउने युवराज कार्कीबीच केही स्वार्थ मिले पनि राजनीतिक मुल्य, मान्यता, संस्कार र दर्शनमा निकै फरक छ । जसको पुष्टि केही दिनमै हुनेछ । किनकी युवराज कार्कीको मुख्य एजेण्डा भनेको नेपालमा खस राज्य पनि निर्माण होस् भन्ने नै हो ।

हुन त उपेन्द्र, अशोक र युवराजबीचको एकताले एउटा सन्देश भने दिएको छ– त्यो हो, मधेशी र पहाडियाको एकता । झोले पार्टी बढिरहेका बेला तीन वटा साना पार्टी मिल्नु नेपाली राजनीतिका लागि पनि सकारात्मक कुरा हो । त्यसमा पनि मधेसी पहाडी र खस क्षेत्रीको एकता हुनु झनै राम्रो कुरा हो । तराईका समुदायबीच फाटो आइरहेका बेला मधेसी, पहाडी र शासक जाति मानिएको खस क्षेत्रीको एकतामा नयाँ पार्टी निर्माण हुनुले पहाड र मधेसको बीचमा चलिरहेको विभेदलाई अन्त्य गर्ने विश्वास पनि लिइएको छ । तर, यो एकतालाई कायम राख्न सक्नु चुनौती पनि हो । किनकी नेपालमा सकारात्मक लक्ष्यका साथ स्थापना भएका पार्टी विभिन्न कारणले फुटेका छन् । जसमा पदमा पुग्ने प्रतिस्पर्धा पहिलो कारण हो । अहिले प्रमुख दलमा पनि पार्टीको पदमा पुग्न घात अन्तरघात हुने गरेका छन् ।

उदाहरणका लागि नेपाली काँग्रेसमा संस्थापन र देउवा पक्षको नाममा हरेक कार्यक्रममा अन्तरघात हुने गरेको छ । त्यस्तै एमालेमा पनि अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच पद प्रतिष्ठाकै लागि प्रतिस्पर्धा भएको देखिन्छ । झन् माओवादी त पद प्रतिष्ठाकै लागि पाँचपटक टुक्रिएको छ । अहिलेको मुख्य एकीकृत नेकपा माओवादीमा पनि प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ गरी तीन वटा गुटमा पार्टी चलिरहेको छ ।

ठूला पार्टीमा त पद प्रतिष्ठाको लागि यस्तो प्रतिस्पर्धा छ भने पाँचौ ठूलो दल भनेर नयाँ जन्म लिएको ‘संघीय समाजवादी फोरम नेपाल’मा पनि पदीय प्रतिस्पर्धा नहोला भन्न सकिन्न । जसका कारण उपेन्द्र र अशोकको एकता समीकरण भंग हुन सक्छ । किनकी नेपालमा नफुटेका पार्टी नै छैनन् । चाँहे कांग्रेस होस् वा एमाले । माओवादी होस् वा राप्रपा । यहाँसम्म कि उपेन्द्रकै नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम समेत विगतमा सिसा फुटेझैँ पटकपटक फुटेकै हो । अहिले पनि उपेन्द्रबाटै चोटिएका चार–पाँच वटा दल छन् । कुनै बेलाका काँग्रेसका हस्ती विजयकुमार गच्छदार र जेपी गुप्तालाई आफ्ना पार्टीमा टिकाउन नसक्ने उपेन्द्रसँग अशोकलाई टिकाउने के जादु होला ?