लस एञ्जलस, अमेरिका । मातृभूमि नेपालमा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि अहिले देश विदेशमा रकम संकलन गरेर क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण र नव निर्माणमा योगदान गर्ने प्रयास भैरहेको छ ।
यस क्रममा यहाँ रहेका केही सिर्जनात्मक सोच भएका युवाहरु मिलेर एक सांगीतिक कार्यक्रम गरी रकम संकलन गर्ने भएका छन् । ‘नेपालको सहयोगार्थ वृहत मनोरन्जनात्मक कार्यक्रम’को नामबाट यहाँ यस्तो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम आयोजक मध्येकी एक अपला उपाध्यायले जानकारी दिएकी छिन् ।
एफ१ ग्रुपका नामबाट युवाहरुको एक समूहले यो कार्यक्रम आयोजना गर्न लागेको छ । लस एञ्जलसको स्थानीय नेपाली समुदायसंग मिलेर यही जुलाई ३ तारिख शुक्रवार साँझ लंगवीच मेरियट होटलमा यो कार्यक्रम आयोजना गर्न लागिएको मिस एएनए समेत भैसकेकी उपाध्यायले बताइन् ।
कार्यक्रममा अमेरिकामा रहेका गायक गायिकाहरु निमा रुम्बा, नलिना चित्रकार, सरोज दत्त, दीपेशकिशोर भट्टराई, हेमन्त श्रेष्ठ, मलिना जोशी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
अपला आफैं र मिस नेपाल मलिना जोशीको उद्घोषण रहने यो वृहत सांगीतिक कार्यक्रमबाट पचास हजार भन्दा बढी डलर रकम संकलन गर्ने आयोजकहरुको लक्ष्य छ । कार्यक्रमबाट उठेको रकम भूकम्पबाट अति प्रभावित जिल्लाका विद्यालय भवन निर्माणका लागि खर्च गरिनेछ ।
















प्रतिक्रिया