बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली को हुन् ?

दैनिक नेपाल २०८० चैत १५ गते ७:४९

काठमाडौं, १५ चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पाले गत साता मलेसियाको दमनसरास्थित एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै एउटा सुटकेस भेटे । त्यो सुर्केसभित्र थियो, ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट । उनले गत बुधबार सो नगदसहितको सुटकेस फेला पारेपछि प्रहरीलाई बुझाए, आजको राजधानी दैनिकमा खबर छ ।

भेटेको पैसासहितको सुटकेस प्रहरीलाई इमानदारीपूर्वक बुझाएपछि उनलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ । मंगलबार रोजगारदाता कम्पनीका मालिकसहित दूतावासमा बोलाएर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले शेर्पाको सम्मान गरेका हुन् । शेर्पाको यस इमानदारिताका कारण उनलाई यतिबेला सम्मान थाप्न भ्याइनभ्याइ छ । विगत ४ वर्षदेखि मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा कार्यरत रहेका शेर्पालाई सम्मान थाप्न भ्याइनभ्याइ भएको हो ।

‘म ए फाइभ सेक्युरिटी सर्भिस कम्पनीमा सेक्युरिटी सुपरभाइजरमा कार्यरत छु, बिहान ड्युटीका क्रममा पेट्रोलिङ जाँदा कर पार्किङ एरियामा एउटा सुटकेस देखें,’ शेर्पाले भने, ‘त्यो सुटकेस देखेर यताउता कोही आउँछ कि भनेर ५–७ मिनेट पर्खिएँ, त्यसपछि कोही पनि नआएपछि त्यो सुटकेस खोलेर हेरें, भित्र पैसैपैसा देखेपछि कम्पनी प्रशासन र प्रहरीलाई एकैसाथ खबर गरें ।’ त्यस सुटकेसभित्र ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट पो रहेको आफूलाई पछि थाहा भएको शेर्पाले बताए ।

शेर्पाले आफ्नो पेसागत निष्ठा तथा व्यावसायिकता प्रमाणित गरेको भन्दै उनको इमानदारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ । उनको यो इमानदारी तथा व्यावसायिकताले सारा नेपाल र नेपालीको शिर उच्च बनाएको दूतावासले जनाएको छ । केही दिनअघि मात्र उनलाई कम्पनीका निर्देशक सिंह जसवंतले उपहारसहित अवार्ड प्रदान गरेका थिए ।

अवार्ड प्रदान गर्दै कम्पनीका निर्देशक सिंह जसवंतले भने, ‘हाम्रो कम्पनीप्रतिको शेर्पाको वफादारी र इमानदारीको साँच्चै प्रशंसा गर्छौं ।’ यस घटनाले नेपाली कामदार इमानदार हुन्छन् भन्ने उदारणसमेत दिएको रोजगारदाता कम्पनीले जनाएको छ ।

ए फाइभ सेक्युरिटी सर्भिसमा काम गर्दै आएका उनले आफूले आफ्नो काम र जिम्मेवारी पूरा गरेको बताए । उनलाई देश विदेशबाट सम्मान गर्नुका साथै सम्मान थाप्न भ्याइनभ्याइ छ । उनी मलेसियाका विभिन्न सञ्चारमाध्यमको नजरमा परेका छन् भने सामाजिक सञ्जालभरी छाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित