७ श्रावण २०८३, बिहिबार

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो : प्रधानमन्त्री

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’का अवसरमा आज शुभकामना दिँदै उहाँले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको हो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले ग्याल्बो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायको मौलिक परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनबाट आशीर्वाद लिनका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ ।