
काठमाडौं, २६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित भएको दाबी गर्नुभएको छ ।
पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताउनुभयो ।
‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ?’ भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गर्नुभयो ।
नेताहरुको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उहाँले सधैको लागि देश छोडेर जाने लहर बढेकोप्रति राज्य उदासिन भएको आरोप लगाउनुभयो ।
राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाईसँगै लैजानु पर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्ने समेत विचार व्यक्त गर्नुभयो ।
हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न विचार मिल्नेहरुबीच तत्काल मोर्चा बनाउनु पर्नेमा जोड दिनुभयो ।
एक्लै एक्लै हिड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितको लागि फराकिलो सोच र दुरदर्शिता आवश्यक रहेको बताउनुभयो ।
बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरु, उपाध्यक्ष तथा महामन्त्रीहरुले भावी कार्यक्रम र कार्य प्रगती बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया