
काठमाडौं, २५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका जाँदैहुनुहुन्छ ।
११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ । शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहितको ७ सदस्यीय टोली सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैहुनुहुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमण स्वीकृत गरेको थियो ।
सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ ।
मन्त्री चौधरीले आफू विदेश भ्रमणमा लालायित भएको नभएर अघिल्लो मन्त्रिपरिषद्बाटै कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्वीकृत भइसकेको अवस्थामा आफू त्यसतर्फ जान लागेको स्पष्ट पार्नुभएको छ । मन्त्री चौधरीले बुधबारमात्रै मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको हो ।
त्यसअघि सुरेन्द्रराज आचार्य यो मन्त्रालयको मन्त्री हुनुहुन्थो । तत्कालीन गठबन्धन सरकार नढलेको भए आचार्य नै यो कार्यक्रममा सहभागी हुने तय गरिएको थियो ।












प्रतिक्रिया