बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बन्धक, सात वर्षपछि अभियुक्त पक्राउ

दैनिक नेपाल २०८० फागुन १७ गते १५:३७

काठमाडौं, १७ फागुन । महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहनुभएको छ । प्रहरीले उहाँलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उहाँसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिनुभयो ।

रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाउनुभएको थियो । नेपाल प्रहरी तथा संघ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइनु भएको थियो । नेपाल फर्किएपछि उहाँले मियाँविरूद्ध जाहेरी दिनुभएको थियो । जाहेरीको आधारमा उहाँलाई पक्राउ गरिएको एसएसपी रानाले बताउनुभयो । अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।

रानाका अनुसार ती महिलाको घरको आर्थिक अवस्था कमजोर थियो। मियाँले मासिक नेपाली २० देखि २२ हजारसम्म तलब पाइने भन्दै फकाएर कुवेतमा घरेलु कामदारको रूपमा लगाइदिने प्रलोभन पारेर २०७३ साल जेठ १५ गते सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्‍याएको खुलेको थियो । भारतमा भएका एजेन्टले १० दिनको भिजिट भिसामा ती महिलालाई कोलम्बो पठाएका थिए।

कोलम्बो पुगेपछि श्रीलंकन मुलका एक एजेन्टले ती महिलालाई जिम्मा लिनुभएको थियो । उहाँले ठूलो संख्यामा महिलाहरूलाई ६८ दिनसम्म राहदानीलगायतका कागजात जफत गरी बन्धक बनाएर राख्नुभयो । कोलम्बोबाट २०७३ सालमै उद्धार गरिएकी महिलाले जाहेरी दिए पनि मियाँ फरार हुनुहुन्थ्यो । पक्राउ पर्नुभएका मियाँलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया
सम्बन्धित