काठमाडौं, १५ फागुन । एकजना विद्यार्थी पैसा जोगाउन हवाईजहाजमा स्कुल आउजाउ गर्छन भन्ने सुन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो ।
क्यानडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्दछन् । तपाईँलाई लाग्न सक्छ दैनिक रुपमा जहाजको भाडा खर्च हुँदा पनि कसरी पो पैसा बचत होला र ? तर ती विद्यार्थीको हरहिसाब भने अलग्गै छ । उनी ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा पढ्छन् ।
उनले विश्वविद्यालयमा हप्तामा दुईवटा कक्षा लिनुपर्छ । जसका लागि उनी आफ्नो घरबाट कलेजमा आउँदा जहाजमा यात्रा गर्दछन्। उनको नाम टिम चेन हो । उनी क्यालगरीमा बस्छन् भने उनको कलेज भ्यानकुभरमा छ । भ्यानकुभरमा कोठाको भाडादर निकै महँगो छ । त्यसैले महिनाको ८ दिनको कक्षाका लागि कोठा भाडामा लिएर भ्यानकुभरमा बस्नुभन्दा घरबाटै हवाईजहाजमा आउजाउ गर्नु उनलाई सस्तो पर्दछ ।
उनका अनुसार जहाजमा घर र कलेजबीच आउजाउ गर्दा एक पटकमा डेढसय डलर खर्च हुन्छ । यसो गर्दा उनको मासिक जहाज भाडाबापत १२ सय डलर खर्च हुन्छ । जबकि भ्यानकुभरमा बेडरुमवाला अपार्टमेन्टको भाडा नै मासिक २१ सय डलर पर्छ ।