काठमाडौं, २३ जेठ । सबैले माइली भन्थे। उनी आफ्नो नाम र ठेगाना बताउन सक्दिन थिइन्। ६ महिनादेखि सुन्धाराको बागदरबार क्षेत्रमा विक्षिप्त अवस्थामा भौतारिँदै आएकी थिइन्। कपाल मैलिएर लट्टा परेको थियो। ज्यान फोहर थियो। मैलो र ठाउँ–ठाउँमा च्यात्तिएको लुगाफाटोले उनको लाज बल्लतल्ल ढाकेको हुन्थ्यो।
उनै माइलीको यसै साता उद्धार भएको छ। ललितपुर बागडोलमा रहेको कोसिस नामक संस्थाले उनलाई उद्धार गरेर लगेको हो। संस्थाको केही दिनको बसाइमै उनको अनुहारमा कान्ति फर्किएको छ। शारीरिक रूपमा फिरिसकेकी छन्। नुहाइधुवाइ गरेर सफा देखिएकी छन्। सफा कुर्तासुरुवाल लगाएकी छन्। उनको लट्टा परेको कपाल काटेर छोटो पारिएको छ।
सुन्धारा क्षेत्रमा अलपत्र छँदा बटुवालाई लखेटेर दुःख दिँदै आएकी उनी बिहीबार ुकोसिसु को कार्यालयमा भेट्दा निकै शान्त मुद्रामा देखिइन्। बोलचाल गर्न नसके पनि बेलाबेला मुसुमुसु हाँसिरहिन्।
सुन्धारामा एकजना महिला त्यसै अलपत्र छ भन्ने थाहा पाएपछि हामी उद्धार गर्न गएका थियौं, अत्यन्त नाजुक अवस्थामा उनलाई भेट्टायौं, संस्थाका अध्यक्ष मातृका देवकोटाले बिहीबार भने, केही दिनको उपचारपछि उनको अवस्था फिरेको छ। बोलचाल नगर्ने उनी सुस्त मनस्थिति रहेको देवकोटाले जानकारी दिए।
उद्धार हुनुअघि गत सातासम्म उनी सुन्धाराको सिभिल मलदेखि बागदरबार क्षेत्रवरिपरि भौंतारिरहेकी हुन्थिन्। अधिकांश समय यही क्षेत्रमा भेटिने उनी घरि मूलसडकको डिभाइडरमा टाँगिएको डोरीमा पिङ खेल्थिन्, घरि सडकपेटीमा चिच्याउँदै हिँड्थिन्। कसैले दया गरेर खान दिए खिलखिलाएर हाँस्थिन्, नभए एकोहोरो दौडिरहन्थिन्।
उनको मनले अह्राएपछि छेउछाउका बार भत्काउन खोज्थिन्। अड्याएर राखिएका साइकल हुत्याइदिन्थिन्। कतिपयलाई लौरो बोकेर खेदाउँथिन्। कहिले त रातभर क्वाँक्वाँ रुँदै हिँड्ने गरेको स्थानीय बताउँथे। दिसापिसाब गरेको समेत उनलाई थाहा हुँदैनथ्यो।
झन्डै ४५ वर्षझैं लाग्ने उनले गएको मंसिरदेखि यस्तै अवस्थामा एकसरो कपडाको भरमा पुस–माघको ठिही र चैत–वैशाखको गर्मी कटाएको स्थानीयले सुनाए। दयाको भाव हुनेहरूले बेलाबेला खानेकुरा दिन्थे भने कतिपय छिःछिः दुरदुर गर्दै अनुहार बिगारेर बाटो काट्ने गर्थे। सडकमा रहँदा उनको हातमा गहिरो चोट लागेको थियो। नागरिक दैनिकबाट













प्रतिक्रिया