काठमाडौं, २३ जेठ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै ननिकाली आन्तरिक निर्णयको भरमा एकैचोटि एक हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा करार नियुक्ति दिएको छ।
सरकारी नियुक्तिको सर्वमान्य सिद्धान्तकै धज्जी उडाउँदै स्वास्थ्यमन्त्री खगराज अधिकारी र सचिव डा.प्रवीण मिश्रको एकल निर्णयको भरमा १ हजार ३ सय ४७ जनालाई करार नियुक्ति गरिएको हो। घर बनाउन मजदुर लिएजस्तो बिनासूचना र बिनाप्रतिस्पर्धा सरकारी नियुक्ति दिइएको भनी मन्त्रालयभित्रै आलोचना भइरहेको छ।
नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा आफ्ना ुराजनीतिक कार्यकर्ताु भर्ती गर्न गुपचुप करार नियुक्ति गरिएको मन्त्रालयकै अधिकारी बताउँछन्। स्रोतका अनुसार जेठ १८ गते स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकबाट पचहत्तरै जिल्लाका लागि करार नियुक्ति गर्ने निर्णय भएको थियो।
त्यसै आधारमा आफ्ना मान्छे लाई धमाधम निवेदन दर्ता गर्न लगाइयो। एकैजनाले दर्जनौं निवेदन बुझाए। त्यही निवेदन भरमा बिहीबार १ हजार ३ सय ४७ जनालाई करारपत्र थमाइएको हो। केही दिनअघि यसैगरी १ सय ६० जनाको करार नियुक्ति भएको थियो।
मन्त्रालयमा बिहीबार दिनभरि करारपत्र बुझ्न आउनेको भिड थियो। भुइँतलामा रहेको प्रशासन महाशाखाको टेबुलभरि नियुक्तिपत्रको खात देखिन्थ्यो। आएका व्यक्तिका हातमा नियुक्तिपत्र थमाउन महाशाखाका कर्मचारीलाई भ्याइनभ्याइ थियो। केहीलाई प्रिन्टरमा टोनर सकिएको छ भनी फिर्तासमेत पठाइयो। नागरिक दैनिकबाट













प्रतिक्रिया