२८ आश्विन २०८३, बुधबार

सेनाले भारतसँग गोलाबारुद माग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Weapon_for_a_graphic_designer_by_Mon0Lithकाठमाडौं, २३ जेठ । नेपाली सेनाले भारतसँग विभिन्न तालिममा चाहिने गोला–बारुद, हतियार र बिस्फोटक पदार्थ माग्ने भएको छ। काठमाडौंमा आइतबार सुरु हुने नेपाल–भारत द्विपक्षीय सुरक्षा सुझाव समितिको बैठकमा भारतसँगसैन्य सामग्री माग्न लागिएको हो।

दुई दिनसम्म चल्ने सुरक्षा बैठकमा सैन्यसामग्रीका अलावा नेपाल–भारतबीच द्विपक्षीय सुरक्षा सरोकार, तालिम तथा सूचना आदानप्रदानका विषयमा समेत छलफल हुने नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले नेपाल–भारत सुरक्षा बैठकमा नेपाली सेनालाई आवश्यक पर्ने तालिमका विषयमा पनि भारतीय पक्षसँग छलफल हुने जानकारी दिए।

नेपाल–भारत सुरक्षा बैठक प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो हुँदै आएको छ। सन् २०१३ मा भारतको बैंगलोरमा सुरक्षा बैठक भएको थियो। यसपटक काठमाडौंमा हुने सुरक्षा बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डल शानिबार आइपुग्दैछ।

बैठकमा १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन्। बैठकमा अघिल्ला बैठकमा भएका निर्णय र तिनको कार्यान्वयन तथा प्रगतिको समीक्षासमेत गरिनेछ। आगामी वर्षको कार्य विवरणमाथि पनि बैठकमा छलफल हुने प्रवक्ता पोखरेलले जानकारी दिए । बैठकमा एकअर्कालाई सैन्य तालिमको प्रस्तावसमेत गरिनेछ,’ उनले भने।

२००६ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विदेशबाट सैन्यसामग्री ल्याउन प्रतिबन्ध लगाइएको थियो। गत वर्ष मात्र सरकारले सेनालाई सैन्यसामग्री खरिद गर्ने अनुमति दिएको थियो। नागरिक दैनिकबाट